logo-image

मङ्गलबार, १२ साउन २०८३

इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

मङ्गलबार, १२ साउन २०८३ · अन्तर्राष्ट्रिय

इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौं, साउन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ । वार्ताका लागि अर्को अवसर प्रदान गर्न हाललाई सैन्य आक्रमणको निर्णय स्थगन गरिएको भएपनि संवादबाट निष्कर्ष ननिस्किए पुनः आक्रमण शुरु गर्ने उनले स्पष्ट पार्नुभएको हो । अमेरिकी अनलाइन न्युज पोर्टल एक्सियोसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी इरानसँग गम्भीर वार्ताको क्रममा छौं । यदि यसबाट सकारात्मक परिणाम निस्किएन भने हामी पुनः कडा सैन्य कारबाहीमा फर्किनेछौं ।’
कुटनीतिक समाधानका लागि कति समय दिनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले थप्नुभयो, ‘हामीसँग धेरै समय छैन । यो प्रक्रिया या त छिट्टै टुङ्गिन्छ, नत्र अगाडि बढ्दैन ।’
मध्यस्थकर्ता मुलुकहरू र अन्य क्षेत्रीय साझेदारहरूको आग्रहमा आफूले शुक्रबारका लागि तय गरिएको सैन्य आक्रमण रोकेको ट्रम्पले उल्लेख गर्नुभयो । उहाँले अमेरिकी दबाबका कारण इरानी सैन्य शक्ति कमजोर भएपछि मात्र इरान वार्ताका लागि इच्छुक देखिएको दाबी समेत गर्नुभयो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, ‘हामी राम्रो वार्ता गरिरहेका छौं, हेरौँ के हुन्छ । मलाई लाग्छ केही सकारात्मक नतिजा निस्कने सम्भावना छ । यदि वार्ता सफल भयो भने राम्रो, अन्यथा हामी दुई दिनअघिकै स्थितिमा फर्कनेछौँ ।’
इरानको मुद्दामा अमेरिकी प्रशासन र इजरायली सरकारको धारणा लगभग समान रहेको ट्रम्पको भनाइ छ । यसका साथै, हर्मोज जलसन्धि पार गर्ने क्रममा जहाजहरूमाथि भएको आक्रमणको क्षतिपूर्ति अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाटै असुल गरिने उहाँले पुनः दोहो¥याउनु भयो । ‘हामी उनीहरूले पु¥याएको क्षतिको भुक्तानीका लागि इरानकै पैसा प्रयोग गर्नेछौँ ।’ उहाँले भन्नुभयो । 
क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका रिपोर्टहरूकाअनुसार ओमान र इरानबीचको वार्तामा केही प्रगति भएको छ । यद्यपि, हालसम्म कुनै औपचारिक सम्झौता भने भइसकेको छैन ।