काठमाडौं, साउन ११ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात भएको छ ।
सोमवार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको हो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सिमित भएको छ । यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गर्नुभयो । निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्वलाई पुनः स्थापित गरेको उहाँको भनाइ छ ।
हिमालय क्षेत्रको कठिन भू–गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उहाँले बताउनु भयो । उत्खननका क्रममा पटक–पटक भएको पहिरो, चट्टानको विरूपण र जमिनको तीव्र दबाब जस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको साझा प्रयासबाट समाधान गरिएको थियो । यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए । जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष हकिहिकोको भनाइ छ ।
नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई नयाँ उचाईमा पु¥याएको छ । यसै सफलतालाई जग मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न दुई देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रम समेत शुरु हुने भएको छ । जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ । यो सुरुङमार्गले नेपालको सुरक्षित आवागमन, दिगो आर्थिक वृद्धि र राष्ट्रिय उत्थानशीलतामा युगौँसम्म योगदान पु¥याउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल