logo-image

मङ्गलबार, ३० असार २०८३

अमेरिकाद्वारा समझदारी उल्लंघन जारी रहे प्रतिवद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी

मङ्गलबार, ३० असार २०८३ · अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा समझदारी उल्लंघन जारी रहे प्रतिवद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी

काठमाडौं, असार ३० । संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखे इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो । प्रवक्ता बाघेईले वर्तमान समझदारी ‘संकटको चरण’ मा प्रवेश गरेको उल्लेख गर्दै इरानले कहिल्यै पनि सम्झौताको उल्लंघन पहिले नगरेको स्पष्ट पार्नुभयो । उहाँले पछिल्ला हप्ताहरूमा अमेरिकाले आफ्ना दायित्वहरूको निरन्तर उल्लंघन गरेको र समझदारीका विभिन्न प्रावधान एवं बुँदाहरूलाई क्षत–विक्षत पारेको आरोप लगाउनु भयो ।

इरानले समझदारीका शर्तहरू कार्यान्वयन गर्ने सन्दर्भमा ‘प्रतिवद्धताका लागि प्रतिवद्धता’ को सिद्धान्त अवलम्बन गरेको उहाँले बताउनु भयो । पछिल्लो घटनाक्रमका बाबजुद कुटनीतिको सम्भावनाबारे सोधिएको प्रश्नमा बाघेईले कुटनीति एक महत्वपूर्ण साधन भएको र यो प्रक्रिया कहिल्यै नरोकिने टिप्पणी गर्नुभयो । उहाँले आवश्यक परेको खण्डमा राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि इरानले सबै उपलब्ध संयन्त्र र उपायहरूको प्रयोग गर्ने समेत उल्लेख गर्नुभयो ।