logo-image

आइतबार, १० साउन २०८३

बेहुली को गीत ’दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता, ४८ घण्टामै मच्चायो तहल्का

आइतबार, १० साउन २०८३ · मनोरञ्जन

बेहुली को गीत ’दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता, ४८ घण्टामै मच्चायो तहल्का


काठमाडौैं, साउन १० । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली चलचित्र ’बेहुली’को पहिलो गीत ’दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ ।

सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो सफलता प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको हो । नेपाली कला क्षेत्र र चलचित्र उद्योगमा एकदमै दुर्लभ मानिने सफलता हासिल गर्दै, यो गीत सार्वजनिक भएको ४८ घण्टा नबित्दै टिकटकमा ५० हजारभन्दा बढी भिडियोहरू बनिसकेका छन् । 

यति छोटो अवधिमा यो स्तरको भाइरल हुनुले गीतको लोकप्रियता छ्यापछ्याप्ती र सर्वव्यापी भएको प्रमाणित गर्छ । टिकटकसँगै ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भएको यस भिडियोले ६ लाखभन्दा बढी भ्यूज पार गरिसकेको छ र यसको हेरिने औसत दर अझै तीव्र गतिमा बढिरहेको छ । लोक फ्लेभरमा तयार पारिएको यो गीत यतिबेला हरेक पुस्ताका दर्शक तथा स्रोताको रोजाइमा परेको छ । टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूले समेत यसको हुक–स्टेपमा भिडियो बनाइरहेका छन् । छोटो समयमै लाखौँ दर्शकमाझ पुग्नु र टिकटकमा हजारौँको संख्यामा भिडियोहरू निर्माण हुनुले चलचित्रको बलियो हाइप सिर्जना गरेको छ । पोस्टर र पहिलो गीतले नै बजारमा हंगामा मच्चाएपछि यसको व्यापारिक र समीक्षात्मक सुखद यात्राको अनुमान सुरु भइसकेको छ ।

यस चलचित्रका प्रस्तुतकर्ता समेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीतमा रहेको यो गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको साथमा चर्चित गायकहरू प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य रहेको छ भने कोरियोग्राफी सियोन श्रेष्ठको रहेको छ । विशेष गरी भिडियोमा पारस र दिव्या बेहुला–बेहुलीको आकर्षक भेषमा देखिएका छन्, जसले चलचित्रको मुख्य विषयवस्तु विवाह र यसको सेरोफेरोमा केन्द्रित रहेको स्पष्ट संकेत गर्दछ । यसमा अभिनेता सुशान्त कार्की र पदम तामाङको ’सरप्राइज इन्ट्री’ रहेको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त र पदमको साथमा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।