शनिबार, २७ भदौ २०८३
शनिबार, २७ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २७ । त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तिब्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिवार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उहाँले बताउनु भयो । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरु गरिनेछ ।
उहाँले भन्नुभयो, ‘कृष्णभीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ । कामका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ । आज दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन् । ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम शुरु गरिनेछ । सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ । त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीले बताउनु भयो । त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ । त्रिशूली बाढीपछि गएको पहिरो तथा सडक भासिएपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ । –न्युज एजेन्सी नेपाल
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा
२ घण्टा अगाडि