logo-image

शनिबार, २७ भदौ २०८३

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

शनिबार, २७ भदौ २०८३ · समसामयिक

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

 

सल्यान, भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहान करिब ०८:०० बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका थिए।

गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएकामा बिहान १०:२२ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन्। मृत्यु हुनेहरूमा त्रिवेणी गाउँपालिका–६ पोखरी बस्ने ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्ले बस्ने अन्दाजी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्।

दुर्घटनामा परी जिप चालक त्रिवेणी गाउँपालिका–५ सिंख बस्ने २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी गाउँपालिका–६ की अन्दाजी ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्।

घाइते चारै जनालाई स्थानीय त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचार पश्चात् थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।