शुक्रबार, ०१ साउन २०८३
शुक्रबार, ०१ साउन २०८३ · समसामयिक
ललितपुर, साउन १ । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।
हाँस, काग र गिद्धलगायतका पक्षीमा देखिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणमा आएपछि चिडियाखाना पुनः खोलिएको हो।
सङ्क्रमित पक्षीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न गरी वातावरणीय नमुनाको परीक्षणमा भाइरस नदेखिएपछि सम्बन्धित निकायको निर्णयअनुसार चिडियाखाना सञ्चालनमा ल्याइएको हो। चिडियाखाना बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकले बेलुका ५:०० बजेसम्म बाहिरिनुपर्नेछ।
प्रशासनले जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न, रातो रिबनले घेरिएका क्षेत्रमा नजान, बाहिरबाट ल्याइएका खानेकुरा खुला स्थानमा नखान, फोहोर डस्टबिनमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सबै आगन्तुकलाई अनुरोध गरेको छ।