मङ्गलबार, १६ भदौ २०८३
मङ्गलबार, १६ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १६ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ ।
देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका अस्पतालहरूमा कुल ६ सय शव मात्र राख्न सक्ने क्षमता रहेको छ ।
हालसम्म एक हजार शव संकलन भइसकेको र अझै चार हजार भन्दा बढी मानिस सम्पर्कविहीन रहेकाले शवगृहले भार थाम्न नसक्ने अवस्था सिर्जना भएको हो । गत भदौ १० गते आएको बाढीको तेस्रो दिनमै शवगृहहरू भरिएपछि करिडोर क्षेत्रमै शवहरू कुहिने जोखिम बढेको थियो ।
यसअघि फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रमा संकलन भएका र पहिचान खुल्न नसकेका शवहरू चितवनमा व्यवस्थापन गरिएको थियो। हाल संकलित अन्य शवहरूलाई चितवन, कास्की र काठमाडौंका तोकिएका सरकारी वन क्षेत्रमा गाड्ने तयारी गरिएको छ । सनाखत भइसकेका शवहरूलाई भने कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवार वा आफन्तको जिम्मा लगाइएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।