मङ्गलबार, १६ भदौ २०८३
मङ्गलबार, १६ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १६ । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनु भयो । उहाँले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिनुभयो । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
उहाँले भन्नुभयो, ‘राजमार्ग खुलाउनलाई सडक विभागले यसलाई हाइप्रायोरिटी दिएको छ । आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौँ र तत्कालै यही राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं । यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई हाम्रो उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ । सबै विज्ञहरूको टिम बनाएर उहाँहरूको राय अनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौँ भने वैकल्पिक रुटहरू, स्थानीय सडकहरूलाई पनि प्रयोग गरेर राजमार्गलाई सुचारु गर्छौँ ।’
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको गएको बताउनु भयो । उहाँकाअनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ । सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणवद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने उहाँले बताउनु भयो । तल्लो भागमा नदी कटान हाल रोकिएको प्रारम्भिक अध्ययनबाट देखिएको उहाँको भनाई छ । ड्रोनबाट खिचिएको तस्बिरमा नदीको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले हाललाई माथिबाट डाइभर्सन निर्माण गरेर सडक खोल्ने सम्भावना रहेको उहाँले बताउनु भयो । नदीको टो–स्कर तथा कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले ¥याप गरेर तल्लो भाग संरक्षण गर्ने प्रविधि प्रयोग गर्न सकिने उहाँको भनाई छ । यस्तो संरचनाले नदीको कटान कम गरी विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ । उहाँकाअनुसार हाल सडक सञ्चालनमा ल्याउन करिव १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाईको प्रभावित क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ । तीन–चारवटा मेसिन परिचालन गरी तिब्र गतिमा काम गर्न १५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले राजमार्ग छिटो सञ्चालन ल्याउन वैकल्पिक उपायहरू सोच्नुपर्छ । वैकल्पिक बाटो छ भने ट्राफिक डाइभर्ट गरेर गर्नसक्छौँ । होइन, यहीबाट हामीले खोल्नुपर्छ भने त्यही नजिकै हामीले डाइभर्सन निकाल्न सकिन्छ भने डाइभर्सन निकाल्नुप¥यो । टो–कटिङलाई केही हदसम्म रोक्नलाई जिओब्यागहरू, ग्याभिन नेटलाई ¥याप गर्नसक्छौँ । बोल्डरहरूलाई नेटमा ¥याप गरेर तलतिर बटममा त्यो स्करलाई प्रोटेक्सन गर्नसक्छौँ । त्यो बोल्डरलाई नेटमा ¥याप गर्नलाई नेट पहिला माथिबाट तल झार्छौँ, रोपको सहायताले तल झार्छौँ र त्यसको माथिबाट बोल्डर गुडाउँदै जान्छौँ । नेटको अर्को एन्डलाई हामी माथितिर तान्छौँ अनि ¥याप गरेर तलको टो–स्करलाई अलिकति मिनिमाइज गर्न सक्छौँ । टो–स्करलाई मिनिमाइज ग¥यो भने एक्जिस्टिङ स्लोप जुन एङ्गलमा अहिले बसेको छ, त्यही एङ्गलमा बस्निरहन उसलाई अप्ठ्यारो हुँदैन । फेरि भत्किने चान्स कम हुन्छ । टो–इरोजिनलाई हामीले केही प्रोटेक्सन गर्न सक्छौँ । पहिरोको लम्वाई सय मिटर जति छ, यसको हाइट पनि १५ मिटर जति देखिन्छ । हामीले कम्तीमा पनि १५ दिन जति तीन–चार वटा मेसिन राम्रोसँग मोबिलाइज गरेर निलिङ ग¥यौँ भने पनि १५ दिन जतिमा हामीले बाटो खोल्न सक्छौँ ।’
उहाँले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने बताउनु भयो । सडकको भित्तो कटिङ गरेर केही माथीबाट सडक खुलाउन सकिने उहाँको भनाई छ ।
बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
एक घण्टा अगाडि