सोमबार, १५ असार २०८३
सोमबार, १५ असार २०८३ · अर्थ
काठमाडौं असार १५ । मनसुनी गतिविधि तीव्र बन्दै गएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी, पहिरो, डुबान, कटान र हावाहुरीको जोखिम बढेकाले सर्वसाधारणदेखि सुरक्षा निकायसम्मलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्छ। मनसुन सक्रिय भएसँगै आकस्मिक बाढी आउने खोला तथा खहरे आसपास यात्रा नगर्न र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको जनाएको छ। बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी दुईदेखि तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।
सोमबार बिहानदेखि नै सातै प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा रूपन्देहीको भैरहवामा ३४.८ मिलिमिटर वर्षा मापन भएको छ भने सूर्यपुरामा २९.८, कालीकोटको गेलामा २६.४, तिलोत्तमामा १५.२ र गोरखाको ताकुकोटमा १०.८ मिलिमिटर वर्षा भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा लमजुङको भोर्लेटारमा सबैभन्दा धेरै १२२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि रूपन्देहीको तिलोत्तमामा ११६.४, नवलपुरको दम्कौलीमा ११२.८ र कपिलवस्तुको भगवानपुरमा ८४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
सोमबार राति मौसम अझ सक्रिय हुने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही भाग तथा मधेश प्रदेशमा हावाहुरीको जोखिम रहने पूर्वानुमान गरिएको छ।
प्राधिकरणले डुबानको जोखिम भएका बस्तीका नागरिकलाई आवश्यक परे तुरुन्त सुरक्षित र उँचो स्थानमा सर्न आग्रह गरेको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
विपद्सम्बन्धी सूचना तथा सहायता आवश्यक परे बाढी र वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा तत्काल सम्पर्क गर्न प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ।
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित भक्तपुरबाट एक जना पक्राउ
एक घण्टा अगाडि
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
२ घण्टा अगाडि
इन्दिरा जोशीको स्वरमा बोल्ड आइटम गीत सेन्सेशन् सार्वजनिक
४ घण्टा अगाडि