शुक्रबार, १६ असोज २०८३
शुक्रबार, १६ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १६ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा लगानीमैत्री र विकासको वातारण निर्माण गर्न कानूनी स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गौतमले यस्तो बताउनुभएको हो । उहाँले लगानीकर्ताले जुनसुकै सरकार आएपनि आफूले गरेको सम्झौता कार्यान्वयन हुने विश्वास गर्नसक्ने अवस्था बनाउनुपर्नेमा सरकार त्यसतर्फ क्रियाशील रहेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्ष लाई कानून सुधारको वर्षको रुपमा घोषणा गरेर कानून निर्माण र आवश्यकताअनुसार परिमार्जनको प्रक्रिया समेत शुरु गरिसकेको बताउनु भयो । उहाँले सरकार गठन भएयता मन्त्रिपरिषद्बाट करिब ५४ वटा विधेयक स्वीकृत भई संसद्मा दर्ता हुने चरणमा रहेको जानकारी दिनुभयो । उहाँले तीनदिने कार्यशालाबाट पूर्वाधार विकास र लगानीका क्रममा देखिएका वास्तविक कानूनी जटिलता पहिचान गरी तिनको समाधानका उपाय निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको विकास मोडेल अन्य देशको अभ्यासको प्रतिलिपि नभई नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशअनुकूल हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच हुने विवादलाई लामो समयसम्म अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी गरिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै देशहरूको विकासको मोडेल अलग–अलग हुन्छ । हामीले हाम्रो देश विकास कसरी गर्ने भनेर ठ्याक्कै अरू देशको विकासको मोडेल कपी ग¥यौं भने त्यो हाम्रो देशमा सान्दर्भिक नहुन पनि सक्छ । हाम्रो देशको आफ्नै विकासको मोडेल बनाउनुपर्छ । किनभने हरेक देशहरूका आफ्ना आफ्ना भाषा, संस्कार, संस्कृति, सामाजिक घुलमिल गर्ने तौरतरिका, मनोविज्ञान, हरेक समाजको आफ्नाआफ्नै हुन्छन् । नेपाली समाजको पनि आफ्नै मनोविज्ञान छ । अहिलेसम्म हामीले विभिन्न देशका अभ्यासहरू हेर्यौँ होला, तिनलाई रिफरेन्सको रूपमा लिन मिल्छ तर नेपालको विकासको मोडेल कस्तो हुनुपर्छ भन्ने कुरा हामी आफैँले तय गर्ने हो । विशेषगरी अहिलेको परिप्रेक्षमा विपदले हामीलाई ठूलै एउटा पाठ सिकाएको छ, झस्काएको पनि छ । यसलाई पनि ध्यान दिएर हामीले विकास निर्माणको कामहरु अगाडि बढाउन आवश्यक रहेको छ । कानून र नीतिरू परिवर्तनशील भइरहनु हुँदैन । जुनसुकै सरकार आएपनि लगानीकर्तालाई चाहिँ विश्वास हुनुपर्यो कि मैले गरेको सम्झौतामा भोलि जुनसुकै सरकार आएपनि टिकिरहन्छ, बाँचिरहन्छ र त्यो अनुरूप मैले काम गर्न पाउँछु भन्ने कुरा लगानीकर्तालाई लागिरहनुप¥यो । ह्युमन क्यापिटल जनरेट हुनुपर्यो प्रोटेक्सन हुनुपर्यो , एक्सपोर्ट हुनुपर्यो । यसमा हामीले काम गर्नुपर्छ ।’
पूर्वाधार अदालत गठनका छिट्टै कानूनी प्रक्रिया अघि बढाइनेमन्त्री गौतमले बताउनु भयो । –न्युज एजेन्सी नेपाल