आइतबार, १३ मंसिर २०८३
आइतबार, १३ मंसिर २०८३ · राजनीति
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी सङ्गठन सुदृढीकरण, नेतृत्व विकास र सम्भावित उम्मेदवारहरूको पहिचान गर्न देशभरका सबै ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ नामक राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अभियानका लागि खटिएका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेका छन् ।
सभापति थापाले स्थानीय तहमा पार्टी सदस्यहरूको भेला आयोजना गरी पार्टीको १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम र राजनीतिक प्रतिबद्धताहरूका साथै प्रतिपक्षका रूपमा पार्टीको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
यसका साथै पार्टीले स्थानीय निर्वाचनका सम्भावित उम्मेदवारहरूलाई लक्षित गरी आफ्नो ‘नेतृत्व प्रतिष्ठान’ (लिडरसिप एकेडेमी) मार्फत ४० देखि ४५ दिनको नेतृत्व विकास तालिम सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।
थापाका अनुसार नगरप्रमुख (मेयर), उपप्रमुख (उपमेयर), गाउँपालिका अध्यक्ष र वडाध्यक्षका आकाङ्क्षीहरूलाई स्थानीय सरकारको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त तथा सुशासनका विषयमा प्रशिक्षण दिइनेछ ।