शुक्रबार, ०५ भदौ २०८३
शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ५ । लघुवित्त, मिटरब्याज र सहकारीको पासोमा घरबार गुमाएका पीडितहरू हरिहरभवनको सडकमा राज्य मौन, आँखाभरि आँसु र मनभरि न्यायको आशा ।
चर्को घामको राप । कालोपत्रे सडकबाट निस्किएको तातो बाफ । अनि त्यही सडकपेटीको पेटीमा ओछ्याइएको पातलो म्याट्रेस र त्रिपालको सानो ओत । धुलो र पसिनाले लतपतिएका अनुहार, आँखाभरि अनिँदो थकान र छातीभरि थुप्रिएको पीडाको पहाड बोकेर सयौँ नागरिकहरू विगत सात दिनदेखि हरिहरभवन क्षेत्रको सडकपेटीमा पसारिएका छन् ।
यी कुनै रहरले राजधानी पसेका यात्री होइनन् । यी त ती अभागी नागरिक हुन्, जसको घरबार, खेतबारी, सिन्दूर र आत्मसम्मान लघुवित्त, मिटरब्याज र सहकारीका नाममा लुटिएको छ । सुनसरीको इनरुवादेखि काठमाडौंसम्म १९ दिनको कष्टकर पैदल यात्रा गरेर काठमाडौंको ढोका घच्घच्याउन आइपुगेका र देशभरबाट साहुमहाजनको ऋणको पासोमा परेर आएका यी पीडितहरूको खुट्टाका फुटेका पैताला र ठेला उठेका कुर्कुच्चाले राज्यको अनुहारलाई गिज्याइरहेका छन् ।
सडकपेटीमा लमतन्न परेर बसिरहेकी एक वृद्धा आफ्ना दुवै खुट्टा अगाडि फैलाएर सुस्ताउँदै छिन् । उनका पैतालाभरि गहिरा धाँजा फाटेका छन्, छाला उप्किएको छ र धुलोका कणहरू घाउभित्रै जमेका छन् । इनरुवादेखि काठमाडौंसम्म हिँड्दा–हिँड्दै पातला चप्पलहरू खिइएर सकिए, तर न्यायको बाटो अझै छोटिन सकेको छैन । पैतालाको घाउभन्दा मनको घाउ कयौँ गुणा गहिरो छ । छेउमै सानी नातिनी भोक र प्यासले रोइरहेकी थिइन् । हजुरआमाको काखमा न दुध छ, न आश्वासन ।
उनीहरूका अगाडि राखिएका प्लास्टिकका पानीका जारहरू र सडकको छेउमा झुन्ड्याइएका लुगाका पोकाहरू नै उनीहरूको सम्पूर्ण संसार बनेका छन् । प्रहरीले लगाएको पहेंलो–रातो फलामको ब्यारिकेड एकातिर छ, अर्कोतिर सडकको छेउमै बाँधिएका प्लास्टिक र हरिया–नीला त्रिपालहरू । आकासबाट पानी पर्दा चुहिने र घाम लाग्दा भट्टीजस्तै तातिने यही त्रिपालमुनि पीडितहरूको भान्सा, ओछ्यान र आन्दोलनको थलो चलेको छ ।
घामको चर्को किरणबाट जोगिन महिलाहरू आफ्नै सारीको आँचलले टाउको छोपिरहेका छन् । कोही हातमा छाता ओढेर सडकको पेटीमै पल्टिरहेका छन् । वृद्ध बुबाहरू फलामको बारमा अडेस लागेर टोलाइरहेका छन् । सायद सम्झिरहेका छन्– गाउँको त्यो घर, जुन अहिले साहुको कब्जामा पुगिसकेको छ । प्लेकार्डमा कोरिएको छ, ‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ’धर्नास्थलमा राखिएका प्लेकार्डहरूले कुनै ठूलो राजनीतिक क्रान्ति मागेका छैनन् । तिनले केवल बाँच्न पाउने अधिकार मागेका छन् ।
एउटा प्लेकार्डमा लेखिएको छ, ‘हाम्रो घर फर्काइदेउ सरकार, हाम्रो परिवार फर्काइदेउ !’ ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ । हामीलाई हाम्रो घर, परिवार र भविष्य फर्काइदेउ ।’
अर्को प्लेकार्डमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तस्बिरसहित अन्तर्राष्ट्रिय समुदायलाई गुहारिएको छ । ‘हामी कुनै संख्या होइनौँ, हामी मानव हौँ । हामीलाई न्याय चाहिन्छ ।’ आफ्नो देशको सरकार र स्थानीय नेतृत्वले आवाज नसुनेपछि विदेशी निकायसम्म बिलौना पु¥याउनुपर्ने अवस्थाले पीडितहरूको चरम निराशा र विवशतालाई उदाङ्गो पारेको छ । दिनहुँको घाम, पानी, सडकको धुलो र मानसिक तनावका कारण धर्नामा बसेका अधिकांश पीडितहरू बिरामी पर्न थालेका छन् ।
धर्नास्थल नजिकै काठमाडौं मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरूले वृद्ध महिला तथा पुरुषहरूको रक्तचाप जाँचिरहेका छन् । अधिकांशमा कुपोषण, डिहाइड्रेसन, ज्वरो र उच्च रक्तचापको समस्या देखिएको छ । हातमा औषधि समातेर डाक्टरको अगाडि बसिरहेकी एक महिला भन्दै थिइन्, ‘रोगले भन्दा पनि साहुको धम्की र सास्तीले ज्यान लिइसक्यो, अब त मर्ने कि बाँच्ने केही थाहा छैन ।’ सडकमा लमतन्न सुतेका वृद्धवृद्धाहरू, भोकले रोइरहेका बालबालिकाहरू, पहरा दिइरहेका प्रहरीका लट्ठीहरू र सडकभरि छरिएका आँसुका थोपाहरू, हरिहरभवनको यो दृश्यले आज हरेक सचेत नागरिकको मुटु रेट्छ ।
यी जनता कुनै विलासिता माग्न राजधानी आएका होइनन् । आफ्नै पसिनाको मूल्य, साहु र विचौलियाको शोषणबाट मुक्ति र आफ्नो गुमेको बासस्थान फिर्ता माग्न आएका हुन् । १९ दिन हिँडेर फुटेका पैताला लिएर सडकमा सुतिरहेका यी आम–बुबा र दिदी–बहिनीहरूको कारुणिक क्रन्दन के सिंहदरबारको बन्द कोठाभित्र पुग्ला ? के राज्यले यी निमुखा नागरिकलाई फेरि आफ्नै घर फर्काउन सक्ला ? प्रश्नहरू अनुत्तरित छन्, तर सडकमा न्यायको याचना अझै जारी छ ।
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल
रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित
८ मिनेट अगाडि
काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर
४ घण्टा अगाडि