logo-image

शुक्रबार, ०५ भदौ २०८३

राष्ट्रिय सभाको शुन्य समयः बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कडा कारबाहीसम्मका माग

शुक्रबार, ०५ भदौ २०८३ · राजनीति

राष्ट्रिय सभाको शुन्य समयः बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कडा कारबाहीसम्मका माग

काठमाडौं, भदौ ५ ।  सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक र प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 
राष्ट्रिय सभाको शुक्रवारको बसेको बैठकको शुन्य समयमा बैठकमा बोल्दै सांसदहरुले बाढी–पहिरो पीडितलाई राहत, बालिका हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने र सुशासनका सवालहरू उठाएका हुन् । सांसद कृष्णबहादुर रोकायले जाजरकोट, रोल्पा र बाजुरासहित देशभर बाढी–पहिरोका कारण ६७ जनाको मृत्यु भएको तथ्याङ्क प्रश्तुत गर्दै रुकुमको मुसिकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोका कारण १४ जनाको मृत्यु भएको र १० घर विस्थापित भएको १० दिन बितिसक्दा पनि सरकारले राहत पु¥याउन नसकेको भन्दै आलोचना गर्नुभयो । उहाँले मन्त्रीहरूका लागि हेलिकोप्टर उपलब्ध हुने तर नागरिकका लागि किन नहुने भनी प्रश्न गर्नुभयो । 
बैठकमा बाराको जितपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ । सांसदहरू पूजा चौधरी, रेणु चन्द र विष्णुदेवी पुडासैनीले उक्त जघन्य अपराधको भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा सजाय दिन माग गर्नुभयो । सांसद चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो । सांसद पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कडा कानून निर्माण गर्न सदनको ध्यानाकर्षण गराउनु भयो ।
सांसद घनश्याम रिजालले जातकै आधारमा कोठाबाट निकालिएकी दीपा नेपाली लामो समयदेखि सत्याग्रहमा रहँदा पनि सरकारले संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले यसलाई सिङ्गो दलित समुदायमाथिको अपमानको रूपमा अथ्र्याउनु भयो । सांसद पदमबहादुर परियारले आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको र उल्टै मृतकलाई नै दोषी देखाउन खोजिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नेपालीलाई सहिद घोषणा गर्न र सम्झौता पालना गर्न माग गर्नुभयो । 
सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूले दर्जनौँ स्वकीय सचिव र सल्लाहकार राखेर राज्यको स्रोत दुरुपयोग गरिरहेको आरोप लगाउनु भयो । उहाँले सचिवालयको संख्या कटौती गरी एक जना मात्र स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले बजेट र योजना कागजमा मात्र सिमित भएको भन्दै जनताको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा ज्यान गुमाएका पर्वतका नारायण सार्कीको शव स्वदेश ल्याउन र परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । बैठकमा सांसदहरूले जापानी इन्सेफलाइटिस जस्ता स्वास्थ्य समस्या र नागरिकका आधारभूत आवश्यकताका विषयमा समेत सरकार सचेत रहनुपर्नेमा जोड दिएका छन् ।