logo-image

बिहिबार, २९ असोज २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, राजनीतिक प्रस्ताव र विधान संशोधनको खाका पारित

सोमबार, १९ असोज २०८३ · राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, राजनीतिक प्रस्ताव र विधान संशोधनको खाका पारित

काठमाडौं, असोज १९ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअघि केन्द्रीय कार्यसमितिको अन्तिम बैठक सम्पन्न भएको छ। बैठकले सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव तथा महामन्त्री प्रदीप पौडेलको पार्टी सञ्चालन र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि निर्णय गरेको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षको पार्टीको कार्यदिशा, सरकार, राष्ट्रिय अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध समेटिएको छ। लोकतान्त्रिक संस्थालाई बलियो बनाउने विषयलाई प्राथमिकता दिँदै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल सिद्धान्तका रूपमा अघि बढाउने निर्णय गरेको छ।

आगामी निर्वाचनका लागि सक्षम नेतृत्व निर्माणमा जोड दिँदै नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा पनि अघि सारिएको छ।

त्यस्तै, पार्टी सञ्चालन र विधान संशोधनसम्बन्धी प्रस्तावमा निर्णय प्रक्रिया, जिम्मेवारी बाँडफाँट तथा संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएका छन्। वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत प्रारम्भिक खाकामा राखिएको छ।

तर, उक्त संरचना अन्तिम नभएको कांग्रेसले जनाएको छ। १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधिहरूले पारित गरे मात्रै नयाँ विधान र संगठनात्मक संरचनाले अन्तिम रूप पाउने प्रवक्ता चालिसेले स्पष्ट पारे।