logo-image

आइतबार, १३ मंसिर २०८३

भारतपछि अब चीन जाने तयारीमा प्रधानमन्त्री बालेन, लिपुलेक मुद्दाले भ्रमण थप चासोमा

शनिबार, १२ मंसिर २०८३ · राजनीति

भारतपछि अब चीन जाने तयारीमा प्रधानमन्त्री बालेन, लिपुलेक मुद्दाले भ्रमण थप चासोमा

 

काठमाडौं, मंसिर १३ । भारतको दुईदिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अब चीन भ्रमणको तयारीमा जुटेका छन्। उनको सम्भावित भ्रमणलाई लिएर काठमाडौं र बेइजिङबीच कूटनीतिक तहमा छलफल सुरु भएको छ। चिनियाँ नयाँ वर्ष (फेब्रुअरी ६) अघि नै जनवरीमा प्रधानमन्त्री शाह चीन जाने सम्भावना रहेको बताइएको छ।

भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय सक्रिय भएको छ भने दुवै देशका कूटनीतिक नियोगबीच पनि समन्वय भइरहेको छ। भारत भ्रमणलगत्तै चीन जाने तयारीले प्रधानमन्त्री शाहको छिमेक नीतिलाई चासोका साथ हेरिएको छ।

नेपालका लागि भारत र चीन दुवै आर्थिक, व्यापारिक तथा विकास साझेदारीका महत्वपूर्ण छिमेकी हुन्। भारतसँगको व्यापार, पारवहन र सीमा सम्बन्धसँगै चीनसँग पूर्वाधार, उत्तरी नाका र कनेक्टिभिटीका विषयमा सहकार्य नेपालको प्राथमिकतामा छन्।

यसैबीच, भारतसँगको सीमा विवाद समाधानका लागि सचिवस्तरमा छलफल अघि बढाउन निर्देशन दिइएको छ। अर्कोतर्फ, लिपुलेक हुँदै भारत र चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने विषय पनि चर्चामा छ। यस्तो अवस्थामा प्रधानमन्त्री शाहको सम्भावित चीन भ्रमणलाई थप चासोका साथ हेरिएको छ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा चीनले लिपुलेक मार्गबाट भारतसँग व्यापार गर्ने सहमति गरेपछि बालेनले आफ्नो प्रस्तावित चीन भ्रमण स्थगित गरेका थिए। त्यसैले यसपटकको भ्रमणमा सीमा, व्यापार र नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयले विशेष महत्व पाउने अपेक्षा गरिएको छ।