आइतबार, १३ मंसिर २०८३
शनिबार, १२ मंसिर २०८३ · जीवनशैली
काठमाडौं, मंसिर १३ । हिन्दू धर्म र ज्योतिष शास्त्रमा आइतबारको दिन सूर्यदेवको पूजा–आराधना गर्न विशेष महत्त्व रहेको मानिन्छ। सूर्यदेवलाई ग्रहहरूको राजा मानिन्छ। धार्मिक मान्यताअनुसार आइतबार केही विशेष उपाय गर्नाले जीवनमा सुख, समृद्धि, धन र मान–सम्मान प्राप्त हुने विश्वास छ। आइतबार गर्न सकिने केही धार्मिक उपायहरू :
१. सूर्यदेवलाई अर्घ्य दिनुहोस्
हरेक आइतबार बिहान स्नान गरी तामाको लोटामा जल लिएर सूर्यदेवलाई अर्घ्य दिनुहोस्। यस क्रममा ‘ॐ सूर्याय नमः, ॐ वासुदेवाय नमः, ॐ आदित्याय नमः’ मन्त्रको जप गर्नुहोस्। धार्मिक विश्वासअनुसार यसो गर्दा सूर्यदेव प्रसन्न हुनुका साथै जीवनमा सुख, शान्ति, धन र यश प्राप्त हुन्छ।
२. मनोकामना पूरा गर्न बरको पातको उपाय
आइतबार बरको रूखको एउटा पात ल्याएर त्यसमा आफ्नो मनोकामना लेख्नुहोस्। त्यसपछि उक्त पातलाई बगिरहेको जलमा प्रवाहित गर्नुहोस्। धार्मिक मान्यताअनुसार यस उपायले मनोकामना पूरा हुने विश्वास गरिन्छ।
३. घरको मुख्य ढोकामा घिउको दीपक बाल्नुहोस्
आइतबार साँझ घरको मुख्य ढोकाको दुवैतर्फ शुद्ध गाईको घिउको दीपक बाल्नुहोस्। यसो गर्दा सूर्यदेव र माता लक्ष्मीको कृपा प्राप्त हुने तथा घरमा सुख–समृद्धि कायम रहने धार्मिक विश्वास छ।
४. रातो चन्दनको टीका लगाउनुहोस्
आइतबार घरबाट बाहिर निस्कँदा निधारमा रातो चन्दनको टीका लगाउनु शुभ मानिन्छ। साथै यस दिन रातो रङको लुगा लगाउनुलाई पनि ज्योतिष शास्त्रमा सकारात्मक मानिएको छ। यसले आत्मविश्वास बढाउनुका साथै कार्यमा सफलता मिल्ने विश्वास गरिन्छ।
५. धन र ऐश्वर्य प्राप्तिका लागि दूधको उपाय
धार्मिक मान्यताअनुसार आइतबार राति सुत्नुअघि आफ्नो सिरानी नजिक दूधले भरिएको गिलास राख्नुहोस्। भोलिपल्ट बिहान उक्त दूध बबुलको रूखको जरामा चढाउनुहोस्। यस उपायले धन, ऐश्वर्य र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
६. सूर्य ग्रहलाई बलियो बनाउन माछालाई खाना खुवाउनुहोस्
ज्योतिष शास्त्रअनुसार कुण्डलीमा सूर्य ग्रह कमजोर भएका व्यक्तिले आइतबार माछालाई पिठोका साना डल्ला बनाएर खुवाउनु शुभ मानिन्छ। यसो गर्दा सूर्य ग्रहको सकारात्मक प्रभाव बढ्ने र जीवनका बाधा–अड्चन हट्ने धार्मिक विश्वास रहेको छ।