logo-image

बुधबार, १७ भदौ २०८३

भोटेकोशी बाढी: सुरुङभित्र खोजी तीव्र, सेनाद्वारा ९ हजारभन्दा बढी फौज परिचालन

मङ्गलबार, १६ भदौ २०८३ · समसामयिक

भोटेकोशी बाढी: सुरुङभित्र खोजी तीव्र, सेनाद्वारा ९ हजारभन्दा बढी फौज परिचालन

 

काठमाडौं, भदौ १६ ।  भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्र पारिएको छ। विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा (टनेल) फसेकाहरूको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।

चिलिमे हाइड्रोमा सुरुङभित्र ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली-१ मा २०० मिटरभित्रसम्म प्रवेश गरेर खोजी कार्य जारी राखिएको छ। त्यस्तै, त्रिशूली-३ 'ए' मा सुरुङको मुख्य भाग फेला पारी पानी र हावाको प्रबन्ध मिलाउनुका साथै एक्स्काभेटर र रक ब्रेकरको सहायताले भित्र छिर्ने बाटो बनाइँदैछ भने त्रिशूली-३ 'बी' मा पनि सुरुङको प्रवेशद्वार खोजेर खन्ने काम भइरहेको छ। यसअघि विभिन्न हाइड्रोपावर क्षेत्रहरूबाट २७९ जनाको जीवितै उद्धार गरिएको थियो।

नेपाली सेनाले आज मात्रै हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरेको छ। रसुवाको टिमुरेदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी सैनिकहरू प्रत्यक्ष रूपमा खटिएका छन्। उनीहरूले बस्ती र जङ्गलमा पैदल गस्ती गरी जनताको अवस्था बुझ्ने, घाइतेहरूको उद्धार गर्ने, शव व्यवस्थापनमा सघाउने र अवरुद्ध सडकहरू खुलाउने काम गरिरहेका छन्।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन धुन्चे बजार, त्रिशूली, देवघाट, परासीस्थित अस्पताल र शव संकलन केन्द्र लगायतका स्थानहरूमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम पनि तिब्र पारिएको छ। (Source : Nepal Army)