logo-image

बुधबार, २८ असोज २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: बन्दसत्र अघि केन्द्रीय कार्यसमिति बैठक सुरु, प्रतिवेदन अनुमोदनपछि निर्वाचन प्रक्रिया अघि बढ्ने

सोमबार, १९ असोज २०८३ · राजनीति

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: बन्दसत्र अघि केन्द्रीय कार्यसमिति बैठक सुरु, प्रतिवेदन अनुमोदनपछि निर्वाचन प्रक्रिया अघि बढ्ने

 

काठमाडौं, असोज १९ ।   नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। ललितपुरमा आयोजित कार्यक्रममा चियापान तथा जलपान पश्चात् नेताहरू बैठकस्थल प्रवेश गरेसँगै औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदनहरू केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्रै बन्दसत्रको औपचारिक सुरुवात हुनेछ। "पार्टीका विभिन्न समितिहरूलाई दिइएको जिम्मेवारीअनुसार प्रस्तावहरू पेस हुनेछन्," प्रवक्ता चालिसेले भने, "बैठकले ती एजेन्डा अनुमोदन गरेपछि सोही आधारमा बन्दसत्र अघि बढ्नेछ।"

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ। बन्दसत्रमा पार्टीको राजनीतिक, साङ्गठनिक तथा समसामयिक विषयमा गहन छलफल हुने जनाइएको छ। बन्दसत्र सम्पन्न भएसँगै महाधिवेशनको मुख्य कार्यभार मानिएको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

साँझ ५ बजे मतदाता नामावली प्रकाशन, मङ्गलबार मनोनयन

महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ। नामावली प्रकाशन पश्चात् प्राप्त दाबी–विरोध तथा छानबिनका प्रक्रियाहरू पूरा गरी अन्तिम नामावली कायम गरिनेछ।

निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। पार्टीको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ। मनोनयन दर्तासँगै नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा थप स्पष्ट हुने देखिन्छ। यसका लागि विभिन्न पदका आकांक्षी नेताहरूले आन्तरिक भेटघाट र छलफललाई तीव्र बनाएका छन्।