बिहिबार, ०३ वैशाख २०८३
शनिबार, ०९ फागुन २०८२ · खेलकुद
‘नेपाल एपीएफ स्कूल कीर्तिपुरको २१औँ स्थापना दिवस’को अवसरमा संचालन भएको तेस्रो नेपाल एपीएफ स्कूल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ । प्रतियोगितामा सैनिक आवशीय महाविद्यालय सल्लाघारीले नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो ।
फागुन ८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपाधी जित्न सफल सैनिक आवशीय महाविद्यालय सल्लाघारी तथा उत्कृष्ट खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुको साथै स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई सहयोग गर्ने महानुभाव तथा संघसंस्थाहरुलाई समेत कदरपत्र प्रदान गरेका हुन । कार्यक्रममा महानिरीक्षक अर्यालले स्थापना दिवसको गौरवपूर्ण अवसरमा विगतका प्रेरणादायी यात्राको स्मरण गर्दैै नेपाल एपीएफ स्कुलले आगामी दिनहरुमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै अझ उचाईको शिखरतर्फ अग्रसर बनी राष्ट्रका लागि सक्षम, अनुशासित तथा नैतिकवान नागरिक उत्पादन गर्ने आफ्नो पवित्र दायित्वलाई प्रभावकारी रुपमा बहन गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरे ।
उनले शैक्षिक तथा खेलकुदको क्षेत्रमा नेपाल एपीएफ स्कुल सक्षम, अनुशासित र विश्वासिलो संस्थाको रुपमा स्थापित हुँदै आएको चर्चा गर्दै सिमित स्रोतसाधनको अधिकतम तथा प्रभावकारी रुपमा प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणका सन्ततीहरुलाई गुणस्तीय, मुल्य आधारित र व्यवहारिक शिक्षा प्रदान गर्दै आईरहेको बताए ।
बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान, संवद्र्धन र संरक्षण गर्नु विद्यालय, राज्य तथा सम्पूूर्ण समाजको साझा दायित्व भएको बताउनुहुँदै महानिरीक्षक अर्यालले भने, ‘विद्यालय शैक्षिक विकासको मूल केन्द्र हो, जहाँ शिक्षक शिक्षिकाहरुको लगनशिल, पेशागत निष्ठा र समर्पण विद्यार्थीहरुको सफलतामा प्रतिविम्बित हुन्छ । उनले खेलकुद केवल शारीरिक तन्दुरुस्तीको साधन मात्र नभई मानसिक दृढता, नेतृत्व क्षमता, अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्ने सशक्त माध्यम भएको चर्चा गर्दै अन्तर विद्यालय प्रतियोगिताहरुले विद्यार्थी भाईबहिनीहरुमा मात्र नभई विद्यालय, समाज र सिंगो राष्ट्रको सम्बन्धलाई समेत बलियो बनाउन मद्दत गर्ने बताए ।
महानिरीक्षक अर्यालले खेलकुद खेल मात्र नभई राष्ट्रको परिचय समेत रहेको बताउँदैै खेल मैदानमा उत्रिएपछि जीत तथा हार भन्दापनि खेलादीहरुले देखाएको इमानदारिता, अनुशासन र राष्ट्रप्रेम प्रतिको भावले राष्ट्रको गरिमा बढाउने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक गणेश बहादुर ठाडा मगर लगायत विभिन्न संघसंस्थाका महानुभाव, स्थानीय भद्रभलाद्मी, अभिभावक तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।