शुक्रबार, १९ भदौ २०८३
आइतबार, ०१ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ। सभापति लामिछानेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर परिमार्जन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै यो रिट दायर गरिएको थियो।
यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले विपक्षीहरूको लिखित जवाफ प्राप्त भइसकेको वा म्याद नाघिसकेको अवस्थालाई ध्यानमा राख्दै आजका लागि 'पूर्ण सुनुवाइ' को मिति तय गरेको थियो। अदालतले यस विषयलाई तत्काल किनारा लगाउनुपर्ने प्रकृतिको भन्दै 'हेर्न नमिल्ने' बाहेकको अवस्थामा पेसी स्थगित नहुने गरी आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते सभापति लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेका सहकारी र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन्। सोही निर्णय कानुनसम्मत नभएको जिकिर गर्दै सर्वोच्चमा रिट परेको हो।