सोमबार, १८ जेठ २०८३
बुधबार, ०६ फागुन २०८२ · खेलकुद
महिला इमर्जिङ टिम्स एशिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
प्रतियोगितामा अपेक्षाकृत नतिजा नआए पनि नेपाली टोलीको प्रदर्शनमा उल्लेख्य सुधार देखिएको र यसले आगामी दिनका लागि ठूलो पाठ सिकाएको टोलीकी उपकप्तान पूजा महतोले बताउनु भयो । महतोकाअनुसार ठूला टोलीका प्रशिक्षकहरूले समेत नेपालको खेलमा आएको सुधारको प्रशंसा गरेका थिए । प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ सँग ३० रनको र युएईसँग १८ रनको चुनौतीपूर्ण हार व्यहोरेको थियो भने भारत ‘ए’ सँग ७ विकेटको पराजय सामना गरेको थियो । हारका बाबजुद पनि टोलीको मनोबल उच्च रहेको र सबै खेलाडीले आफ्नोतर्फबाट उत्कृष्ट योगदान दिने प्रयास गरेको महतोले उल्लेख गर्नुभयो ।
टोलीको सकारात्मक माहोल र खेलाडीहरूको दृढ संकल्पले नेपाली महिला क्रिकेटको भविष्य उज्यालो रहेको संकेत गरेको छ । उपकप्तान महतोले आगामी दिनमा यस्ता अवसरहरू पाउँदा टोलीले अझै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । समग्रमा, यो भ्रमण नतिजाका दृष्टिले सुखद् नभए पनि अनुभव र आत्मविश्वासका हिसावले नेपाली क्रिकेटका लागि एक महत्वपूर्ण खुड्किलो सावित भएको छ ।
न्युज एजेन्सी नेपाल