logo-image

मङ्गलबार, १६ भदौ २०८३

निर्वाचन पछिको भावी अर्थमन्त्रीले १८ खर्ब ९० अर्बको बजेट ल्याउने

बुधबार, २० फागुन २०८२ · अर्थ

निर्वाचन पछिको भावी अर्थमन्त्रीले १८ खर्ब ९० अर्बको बजेट ल्याउने


काठमाडौं,फागुन २० । निर्वाचन पश्चातको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जम्मा १८ खर्ब ९० अर्बको बजेट ल्याउने गरि सिलिङ तोकिएको छ। योजना आयोगको उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा रहेको स्रोत अनुमान समितिले यस्तो सिलिङ तोकेको हो ।
स्रोतको सीमितता र कमजोर खर्च क्षमतालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको बजेटको तुलनामा ७६ अर्ब अर्थात करिब ४ प्रतिशतले कम  बजेट ल्याउने गरि सिलिङ तोकिएको हो । 
मध्यमकालीन खर्च संरचना २०८२/८३–२०८४/८५ ले आगामी वर्षका लागि २१ खर्ब २८ अर्ब रूपैयाँको बजेट प्रक्षेपण गरेको  छ । तर यो भन्दा १२.५ प्रतिशतले कम सिलिङ तोकिएको छ । 
विनियोजन गरिएको बजेटको आकारमा नभई खर्च भएको बजेट र यथार्थ स्रोतको आधारमा अहिले सिलिङ कम गरिएको योजना आयोग बताउँछ ।  राजस्व वृद्धिदर न्यून र वैदेशिक स्रोत परिचालन कम भएको कारण पनि सिलिङ कम गरिएको  छ । 
आगामी आर्थिक वर्षका लागि तुलनात्मक रूपमा कम राजस्व अनुमान आकलन गरेर बजेट सिलिङ तोकिएको छ। हालसम्मको अवस्थाको वृद्धिदर कायम हुँदा पनि चालु वर्षमा न्यूनतम १२ खर्ब ४० अर्ब राजस्व संकलन हुनेछ। यस आधारमा आगामी वर्षको १३ खर्ब ७८ अर्बको संकलन पूरा हुन ११ प्रतिशतको वृद्धिदर हुनपर्ने देखिन्छ ।