logo-image

मङ्गलबार, १० कात्तिक २०८३

तरुण दलको ७४ औँ स्थापना दिवसः सामाजिक सेवा र रूपान्तरणको संकल्प

मङ्गलबार, १० कात्तिक २०८३ · समसामयिक

तरुण दलको ७४ औँ स्थापना दिवसः सामाजिक सेवा र रूपान्तरणको संकल्प

काठमाडौं, कात्तिक १० ।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसर पारेर देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ । 
संस्थाका अध्यक्ष मनिष कोईरालाले मंगलवार काठमाडौंको संकटा मन्दिर परिसरमा सरसफाई अभियानको नेतृत्व गर्दै तरुण दललाई युवाहरूको आवाज र जनतासँग जोडिने संस्थाका रूपमा पुनः परिभाषित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मंगलवार देशभरका करिव ३५ जिल्लामा सक्रियताका साथ स्थापना दिवस मनाइएको छ । कार्यक्रमहरूमा रक्तदान, अस्पतालमा बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता र मन्दिर सरसफाई जस्ता सामाजिक कार्यहरू समावेश छन् । विशेषगरी संस्कृति र परम्परासँग युवा पुस्तालाई जोड्ने उद्देश्यका साथ देशभर मन्दिर सरसफाई अभियानलाई नियमित तालिकामा राखेर अघि बढ्ने निर्णय गरिएको अध्यक्ष कोईरालाले जानकारी दिनुभयो । 
बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लाहरूमा मन्दिर सरसफाइ अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको उहाँको भनाइ छ । अध्यक्ष कोईरालाले तरुण दलका बारेमा समाजमा रहेको बुझाइलाई चिर्दै यसलाई युवाहरूको सशक्त आवाज र सामाजिक रूपान्तरणको संवाहक बनाउने दाबी गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा देशका ३० देखि ३५ जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । कतै रक्तदान, कतै जिल्ला अस्पतालमा फलफूल वितरण, कतै फुटबल प्रतियोगिता र कतै मन्दिर सरसफाइ अभियान सञ्चालन भइरहेका छन्। युवालाई संस्कृति र समाजसँग जोड्ने उद्देश्यले मन्दिर सरसफाई अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउने हाम्रो योजना छ । तरुण दललाई युवाको आवाज उठाउने, जनतासँग जोडिने र संस्कृतिको संरक्षण गर्ने संस्थाका रूपमा अगाडि बढाउँछौँ । बदलिँदो समयअनुसार कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा पनि काम गर्ने योजना छ । यसै महिनाभित्र युवासँग प्रत्यक्ष जोडिने छवटा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छौँ । त्यसबारे प्रेस सम्मेलनमार्फत विस्तृत जानकारी गराउनेछौँ ।’
प्रविधिको विकासलाई आत्मसात गर्दै आगामी दिनमा कृत्रिम बौद्धिकताको क्षेत्रमा समेत युवाहरूलाई जोड्ने योजना रहेको अध्यक्ष कोईरालाले बताउनु भयो । आगामी एक महिनाभित्र तरुण दलले युवा लक्षित ६ वटा नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ । प्रेस सम्मेलनमार्फत छिट्टै नै ती कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल