वित्तीय तथ्यांकः दोस्रो संस्करणको आम्दानी र तेस्रो संस्करणको बजार मूल्य
एनपीएलको व्यावसायिक विकास बुझ्न सबैभन्दा महत्वपूर्ण तथ्यांक दोस्रो संस्करणको आधिकारिक आय–व्यय विवरण र तेस्रो संस्करणका प्रशारण तथा टिकट विक्री अधिकार हुन् । क्रिकेट संघ नेपालले अनुमोदन गरेको विवरणअनुसार दोस्रो संस्करणको कुल आम्दानी ४७ करोड ३६ लाख ५९ हजार रुपैयाँभन्दा बढी थियो । प्रतियोगिता सञ्चालन खर्च २१ करोड ९६ लाख रुपैयाँभन्दा बढी भयो । खर्च कटाएपछि आम्दानी बाँडफाँटअघि करिव २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ बाँकी रह्यो । प्रकाशित विवरणअनुसार बाँडफाँटयोग्य रकमको ५० प्रतिशत टोलीलाई वितरण गर्ने व्यवस्था थियो, आठ टोलीलाई जम्मा करिव १६ करोड १८ लाख रुपैयाँ दिइयो भने क्रिकेट संघले करिव ९ करोड २१ लाख रुपैयाँ राख्यो। यसले एनपीएलको दोस्रो संस्करणले ठूलो आर्थिक कारोबार गर्नसक्ने क्षमता देखायो। तर आम्दानी र नाफा एउटै कुरा होइनन्, र बाँडफाँटअघिको रकमलाई अन्तिम खुद नाफा भन्न पनि मिल्दैन । तेस्रो संस्करणका लागि क्रिकेट संघले नेटटिभीलाई विश्वव्यापी इन्टरनेट प्रसारण अधिकार १८ करोड ४ लाख रुपैयाँमा, हिमालय टेलिभिजनलाई नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार करिव १४ करोड ६४ लाख रुपैयाँमा र इसेवालाई टिकट विक्री अधिकार ८५ लाख रुपैयाँमा दिएको छ । तीनवटै अधिकारको घोषित मूल्य जोड्दा करिव ३३ करोड ५३ लाख रुपैयाँ हुन्छ । यो रकम अधिकार सम्झौताबाट आउने मूल्य हो, प्रतियोगिताको कुल आम्दानी होइन । दोस्रो संस्करणका अधिकार सम्झौताको दायरा र तेस्रो संस्करणका सम्झौता पूर्ण रूपमा समान छन् कि छैनन् भन्ने कुरा नहेरी एउटै शिर्षकमा सिधा तुलना गर्नु पनि सावधानीपूर्ण हुँदैन । तथापि, तेस्रो संस्करणको अधिकार विक्रीले एनपीएलको व्यावसायिक बजारप्रति कम्पनीहरूको चासो बढेको स्पष्ट संकेत दिन्छ ।
काठमाडौंको सीमा नाघेरः पोखरा, भैरहवा र क्षेत्रीय विस्तार
एनपीएलको अहिलेको संरचनामा एउटा प्रमुख सीमा प्रतियोगिताका सबै खेल कीर्तिपुरमै केन्द्रित हुनु हो । आठ टोलीले विभिन्न क्षेत्रको प्रतिनिधित्व गरे पनि खेल हेर्न पाउने प्रत्यक्ष अवसर, मैदानसँग जोडिएको कारोबार र स्थानीय आर्थिक लाभको ठूलो हिस्सा एउटै क्षेत्रमा केन्द्रित हुन्छ । एनपीएललाई राष्ट्रिय लिगका रूपमा अझ प्रभावकारी बनाउन भविष्यमा पोखरा, भैरहवा, विराटनगर, जनकपुर, धनगढी वा नेपालगन्जजस्ता शहरमा केही खेल आयोजना गर्ने सम्भावना अध्ययन गर्नुपर्छ । पोखरामा क्रिकेटलाई पर्यटनसँग जोड्न सकिन्छ; भैरहवामा सीमापारिका दर्शक र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अवसर खोज्न सकिन्छ; विराटनगर र धनगढीमा स्थानीय समर्थकको सहभागिता बढाउन सकिन्छ । तर कुनै सहरमा क्रिकेटप्रतिको उत्साह हुनु र त्यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्न आवश्यक पूर्वाधार उपलब्ध हुनु फरक कुरा हो । पिचको गुणस्तर, रातिको खेलका लागि बत्ती, प्रशारणका लागि भरपर्दो इन्टरनेट र विद्युत, खेलाडी तथा अधिकारीको आवास, सुरक्षा, यातायात, दर्शक क्षमता र सञ्चालन खर्चको तुलनात्मक मूल्यांकन आवश्यक हुन्छ । त्यसैले एकैपटक सबै खेल देशभर छरिनुभन्दा शुरुमा छनोट गरिएका केही खेल अन्य शहरमा आयोजना गरेर परीक्षण गर्नु व्यावहारिक हुन सक्छ। दीर्घकालमा घरेलु मैदान र बाहिरी मैदानमा खेल्ने शैलीको संरचनाले टोली र स्थानीय समुदायबीच सम्बन्ध बलियो बनाउन सक्छ । यसले एनपीएललाई काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताबाट देशका विभिन्न क्षेत्रमा आर्थिक र सामाजिक प्रभाव सिर्जना गर्ने लिगमा रूपान्तरण गर्न सहयोग पु¥याउन सक्छ ।
फुटबल, कबड्डी र भलिबलका लागि एनपीएलको पाठ
एनपीएलको व्यावसायिक विस्तारले नेपाली खेलकुदका अन्य विधालाई पनि सम्भावनाको सन्देश दिएको छ । नेपाल सुपर लिगमार्फत फुटबलमा टोलीमा आधारित व्यावसायिक संरचना विकास गर्ने प्रयास भएको छ । भलिबलको राष्ट्रिय लोकप्रियता र नेपाल कबड्डी लिगजस्ता प्रतियोगिताको सम्भावनाले पनि खेलकुदलाई व्यवस्थित बजारमा रूपान्तरण गर्ने अवसर देखाउँछन् । भारतको व्यावसायिक कबड्डी लिगले टेलिभिजन प्रश्तुति, टोलीको पहिचान, खेलाडीको बजार मूल्य र प्रायोजनमार्फत परम्परागत खेललाई व्यावसायिक मनोरञ्जनमा बदल्न सकिने उदाहरण दिएको छ । नेपालमा पनि कबड्डीलाई तुलनात्मक रूपमा कम पूर्वाधार खर्चमा आकर्षक प्रतियोगिताका रूपमा विकास गर्न सकिन्छ । भलिबलमा पुरुष र महिला दुवै प्रतियोगितालाई नियमित व्यावसायिक संरचनामा जोड्दा गाउँ तथा सहरमा रहेका प्रतिभालाई राष्ट्रिय मञ्चमा ल्याउन सकिन्छ । तर एनपीएलको ढाँचालाई जस्ताको तस्तै सबै खेलमा लागू गर्नु उपयुक्त हुँदैन । प्रत्येक खेलको दर्शक आधार, प्रतियोगिताको अवधि, खेलाडीको उपलब्धता, प्रशारणयोग्यता, प्रायोजन बजार र सञ्चालन खर्च फरक हुन्छ । टोलीमा आधारित प्रतियोगिता बनाउनु मात्र व्यावसायिक लिगको समाधान होइन, स्थिर खेलतालिका, पारदर्शी वित्तीय संरचना, खेलाडीको सुरक्षा, प्रभावकारी प्रचारप्रसार र युवा विकासको योजना पनि चाहिन्छ । राज्य, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित संघहरूले एनपीएलबाट सिकेर अन्य खेलका लागि उपयुक्त नीतिगत सहजीकरण गर्नुपर्छ। खेलमा लगानी, आर्थिक दिगोपन र व्यावसायिकता एकअर्कासँग जोडिन सके मात्र नेपाली खेलकुदको समग्र विकास सम्भव हुन्छ ।
२०२७ को आईसीसी यू–१९ महिला टी–२० विश्वकपः अन्तर्राष्ट्रिय आयोजनाको तयारी
नेपालले बंगलादेशसँग मिलेर सन् २०२७ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप संयुक्त रूपमा आयोजना गर्दैछ । प्रतियोगिता सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने तय भएको छ र काठमाडौंस्थित त्रिभूवन विश्वविद्यालय मैदान तथा माथिल्लो मूलपानी मैदान नेपालमा खेल सञ्चालनका लागि तोकिएका स्थलमध्ये हुन् । यस आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय महिला क्रिकेटको महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन गर्ने अवसर दिन्छ । एनपीएलबाट प्राप्त अनुभव यसका लागि उपयोगी हुनसक्छ । अन्तर्राष्ट्रिय खेलाडी र अधिकारीको आतिथ्य, होटल तथा यातायात व्यवस्थापन, टिकट विक्री, दर्शक नियन्त्रण, प्रशारण समन्वय, मैदान सञ्चालन र सुरक्षा व्यवस्थामा सिकिएका पाठ विश्वकप आयोजना गर्दा काम लाग्न सक्छन्। डीआरएस र अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालनका नयाँ अभ्यासले पनि व्यवस्थापन टोलीलाई अनुभव थप्ने सम्भावना छ । तर एनपीएल सफलतापूर्वक सञ्चालन भयो भन्दैमा आईसीसीको अर्को प्रतियोगिता स्वतः सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन । महिला विश्वकपका लागि छुट्टै योजना, महिला खेलाडीका लागि उपयुक्त सुविधा, अभ्यास मैदान, स्वयंसेवक परिचालन, सुरक्षा, चिकित्सा सेवा र आईसीसीका प्राविधिक मापदण्ड पूरा गर्नुपर्छ । एनपीएललाई विश्वकपको पूर्वाभ्यास भन्न सकिन्छ तर वास्तविक तयारीका लागि छुट्टै कार्ययोजना, जिम्मेवारी बाँडफाँट र जोखिम मूल्यांकन आवश्यक हुन्छ । यदि नेपालले एनपीएलको व्यावसायिक अनुभवलाई संस्थागत ज्ञानमा रूपान्तरण गर्न सक्यो भने भविष्यमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमताको विकास हुन सक्छ ।
वित्तीय अनुशासन, पारदर्शिता र दीर्घकालीन चुनौती
एनपीएलको तिब्र व्यावसायिक विस्तारसँगै वित्तीय अनुशासन र संस्थागत पारदर्शिताको आवश्यकता पनि बढेको छ । प्रशारण अधिकारको मूल्य बढ्नु, विदेशी खेलाडीको सहभागिता विस्तार हुनु र टिकट बिक्रीको बजार बढ्नु सकारात्मक संकेत हुन् तर लोकप्रियताको उभारमा खर्च अत्यधिक बढ्ने वा आम्दानीको स्थायी स्रोत नबन्ने जोखिम पनि रहन्छ। टोलीमा आधारित व्यावसायिक लिगको दिगोपनका लागि खेलाडी र कर्मचारीको पारिश्रमिक समयमै भुक्तानी, करारका सर्त स्पष्ट, वित्तीय विवरणको लेखापरीक्षण र आम्दानी बाँडफाँटको पारदर्शिता आवश्यक छ । अन्तर्राष्ट्रिय खेलाडी र ठूलो रकम जोडिँदा भ्रष्टाचार, खेल मिलेमतो र अवैध सट्टेबाजीको जोखिमलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । क्रिकेट संघ र सम्बन्धित निकायले भ्रष्टाचारविरुद्धको शिक्षा, गोप्य उजुरी प्रणाली, खेलाडी तथा अधिकारीका लागि आचारसंहिता र प्रभावकारी अनुसन्धान संयन्त्रलाई बलियो बनाउनुपर्छ । टोलीका लगानीकर्ताको जिम्मेवारी पनि प्रतियोगितामा टोली उतार्ने र चर्चित खेलाडी भित्र्याउनेमा मात्र सिमित हुनुहुँदैन । सम्भव भएसम्म आम्दानीको निश्चित हिस्सा उमेर समूहको क्रिकेट, स्थानीय प्रशिक्षण केन्द्र, महिला क्रिकेट र प्रतिभा पहिचानमा पुनः लगानी गर्ने व्यवस्था गर्नुपर्छ । त्यसैगरी, लिगको आर्थिक योगदान बुझ्न कुल कारोबारसँगै रोजगारी, स्थानीय सेवा, होटल, यातायात, विज्ञापन र पर्यटनमा परेको प्रभावसम्बन्धी तथ्यांक पनि संकलन गर्नुपर्छ । वित्तीय विवरण नियमित सार्वजनिक भएमा लगानीकर्ता, खेलाडी, समर्थक र प्रायोजकबीच विश्वास बढ्छ । दीर्घकालीन सफलता भनेको एक सिजनमा धेरै आम्दानी गर्नु मात्र होइन, प्रत्येक संस्करणमा संस्था, खेलाडी र घरेलु क्रिकेटको आधारलाई बलियो बनाउनु हो ।
प्रतियोगिताबाट दिगो खेलकुद प्रणालीतर्फ
एनपीएलका तीन संस्करणले नेपाली क्रिकेटको विकासका तीन चरण देखाएका छन् । पहिलो संस्करणले टोलीमा आधारित प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भन्ने प्रमाणित ग¥यो । दोस्रो संस्करणले ठूलो आम्दानी, दर्शक आकर्षण र व्यावसायिक सम्भावनाको तथ्यांक प्रश्तुत ग¥यो । तेस्रो संस्करणले आईसीसीको आधिकारिक टी–२० मान्यता, डीआरएस, सुधारिएको मैदान र प्रसारण तथा टिकट विक्री अधिकारको उल्लेख्य मूल्यमार्फत प्रतियोगितालाई नयाँ स्तरमा पु¥याउने आधार तयार गरेको छ । तर यी उपलब्धि नेपाली क्रिकेटको अन्तिम गन्तव्य होइनन्; यिनलाई स्थायी क्षमतामा रूपान्तरण गर्ने अवसर हुन् । अब एनपीएलको मूल्यांकन विदेशी खेलाडीको नाम, दर्शकको भीड वा प्रसारण अधिकारको रकमले मात्र गर्नु हुँदैन । नेपाली खेलाडीको प्रदर्शन र करियरमा आएको सुधार, राष्ट्रिय टोलीलाई प्राप्त लाभ, महिला तथा युवा क्रिकेटमा गरिएको लगानी, टोलीको वित्तीय स्थायित्व, खेलाडीको सुरक्षा, क्षेत्रीय विस्तार र पूर्वाधारको दीर्घकालीन उपयोगलाई पनि उत्तिकै महत्व दिनुपर्छ । क्रिकेटले व्यावसायिक लिगको सम्भावना देखाएको छ भने फुटबल, कबड्डी र भलिबलले आफ्ना आवश्यकताअनुसार त्यहाँबाट सिक्न सक्छन् । अबको लक्ष्य एनपीएललाई काठमाडौँको एउटा मैदानमा सिमित प्रतियोगिता नबनाई देशका विभिन्न क्षेत्र, खेलाडीका पुस्ता र खेलकुद अर्थतन्त्रसँग जोड्नु हो । पहिलो संस्करणले सम्भावना देखायो, दोस्रोले बजारको आकार देखायो र तेस्रोले अन्तर्राष्ट्रिय मान्यता तथा प्रविधिको नयाँ ढोका खोलेको छ । वास्तविक परीक्षा भनेको यी उपलब्धिले नेपाली क्रिकेटलाई कति प्रतिष्पर्धी, आत्मनिर्भर, पारदर्शी र दिगो बनाउन सक्छन् भन्ने हो ।–न्युज एजेन्सी नेपाल