सोमबार, ०९ कात्तिक २०८३
सोमबार, ०९ कात्तिक २०८३ · राजनीति
काठमाडौं, कात्तिक ९ । निजी भ्रमणका क्रममा मोरिसस पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मोरिससका विदेश मामिला, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी राज्यमन्त्री हम्बिराजेन (राजेन) नरसिंहसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–मोरिससबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको यात्रालाई थप उपलब्धिमूलक बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।
विशेषगरी मोरिससमा कार्यरत १४ हजारभन्दा बढी नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षित कार्यस्थल, मर्यादित व्यवहार तथा श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्ने विषयमा पराजुलीले जोड दिएका थिए । उनले दुई देशबीच श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) शीघ्र सम्पन्न गरी नेपाली श्रमिकको सुरक्षा र हित संरक्षणका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । त्यसैगरी पर्यटन, व्यापार तथा पारस्परिक लगानीलगायत सम्भावनायुक्त क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।
संसद्को हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति समेत रहनुभएका पराजुलीले मोरिससको राजनीतिक नेतृत्वसँग जलवायु परिवर्तनका असर, जलवायु न्याय र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका विषयमा समेत छलफल गरेको जनाइएको छ । जलवायु परिवर्तनबाट प्रभावित मुलुकका साझा मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य र न्याय सुनिश्चित गर्न मोरिसस सरकारको सहयोग र ऐक्यबद्धता जुटाउने विषयमा पनि उनले पहल गरेको बताइएको छ ।
पाँचदिने मोरिसस भ्रमणका क्रममा पराजुलीले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूसँग समेत भेटघाट गरेका थिए । यसअघि उनले मोरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा मोरिससमा कार्यरत नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो । पाँचदिने मोरिसस भ्रमण सम्पन्न गरी उपनेता पराजुली सोमबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
३ घण्टा अगाडि