logo-image

बिहिबार, ०४ भदौ २०८३

बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करण घोषणा, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

बिहिबार, ०४ भदौ २०८३ · समसामयिक

बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करण घोषणा, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

काठमाडौं, भदौ ४ ।  बाह्रखरी मिडियाले ‘बाह्रखरी कथा प्रतियोगिता’को आठौँ संस्करणको घोषणा गरेको छ । 
बिहीवार पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताका लागि विश्वका जुनसुकै स्थानमा रहेका नेपालीले नेपाली भाषामा कथा पठाउन सक्नेछन् । प्रतियोगिताका लागि असोज ३ गतेभित्र कथा पठाउन सकिने बाह्रखरी डिजिटल न्युजका कार्यकारी सम्पादक बलराम पाण्डेले जानकारी दिनुभयो । बाह्रखरी मिडियाका कर्मचारी तथा परिवारका सदस्यले भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । प्रतियोगिताको निष्पक्षताका लागि यस्तो व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार प्रतियोगितामा सहभागी हुने कथा नेपाली भाषामा लेखिएको, अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । यसअघि प्रतियोगितामा पठाइएको कथा पुनः पठाउन पाइनेछैन । प्रतियोगिताको नतिजा सार्वजनिक नहुँदासम्म सहभागीले पठाएको कथा अन्य माध्यमबाट प्रकाशन वा प्रसारण गर्न समेत नपाउने उहाँले बताउनु भयो । छनोटमा परेको कथा अन्य माध्यममा प्रकाशित वा प्रशारित भएको पाइएमा पुरस्कार निलम्बन हुने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पुरस्कार पाएपछि पनि कथा अन्यत्र प्रकाशित भइसकेको पुष्टि भएमा पुरस्कार स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ । प्रतियोगिताको प्रथम हुने कथाकारले २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख रुपैयाँ तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारलाई कथा लेखनबापत जनही ७ हजार रुपैयाँ प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा पठाइने कथा न्युनतम १ हजार ५०० शब्द र अधिकतम ४ हजार शब्दको हुनुपर्ने र वर्ड फाइलमा पठाउनुपर्नेछ । सहभागीले कथासँगै आफ्नो संक्षिप्त परिचय, सम्पर्क नम्बर, मोबाइल नम्बर र हालसालै खिचिएको फोटोसमेत पठाउनुपर्नेछ । प्राप्त कथामध्ये आन्तरिक निर्णायक समूहले ५० कथा छनोट गर्नेछ । त्यसपछि कथाकारको नाम र कथाको शिर्षक गोप्य राखेर ती कथा वाह्य निर्णायक समूहलाई पठाइनेछ । वाह्य निर्णायकले ५० कथामध्येबाट २५ उत्कृष्ट कथा छनोट गर्ने पाण्डेले जानकारी दिनुभयो । निर्णायकहरूलाई कथा पठाउने लेखकको पहिचान जानकारी नहुने आयोजकले जनाएको छ । निर्णायकले कथा मूल्यांकन गरेपछि कोडिङ–डिकोडिङ प्रक्रियाबाट उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक गरिनेछ । उत्कृष्ट २५ कथालाई समेटेर पुस्तकसमेत प्रकाशन गरिने जनाईएको छ । यस वर्षको निर्णायक समूहमा अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन् । यस वर्षको बाह्रखरी कथा लेखन प्रतियोगिताको टाइटल स्पोन्सरमा डिगो रहेको छ । अघिल्लो संस्करणमा करिब १ हजार २०० कथा प्राप्त भएको आयोजकले जनाएको छ ।