logo-image

बिहिबार, ०४ भदौ २०८३

क्यासिनोमा होटलको १० प्रतिशत सेयर स्वामित्व हुनैपर्ने बाध्यकारी व्यवस्था हटाउन हानको माग

बिहिबार, ०४ भदौ २०८३ · समसामयिक

क्यासिनोमा होटलको १० प्रतिशत सेयर स्वामित्व हुनैपर्ने बाध्यकारी व्यवस्था हटाउन हानको माग

काठमाडौं, भदौ ४ । होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने तारे होटलमा होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रश्तावित व्यवस्था हटाउन माग गरेको छ । 
बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उहाँले हान अध्यक्ष विनायक शाहले यस्तो माग गर्नुभएको हो । शाहले चारतारे र पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरेपनि क्यासिनोमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने प्रावधान उचित नहुने तर्क गर्नुभयो । उहाँले क्यासिनो सञ्चालनमा होटललाई अनिवार्य रूपमा साझेदार बनाउँदा क्यासिनो बन्द भएपछि त्यसबाट उत्पन्न हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटलले व्यहोर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । उहाँले होटल व्यवसायीहरुले आजपनि क्यासिनोसम्बन्धी मुद्दा मामिला झेलिरहेको गुनासो पनि गर्नुभयो । उहाँले क्यासिनोमा होटलले लगानी गर्न चाहेमा मात्र सेयर लिन पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले शाहले प्रश्तावित विधेयकको दफा ४० मा क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अनुमति दिने व्यवस्था गरिएको तर होटल व्यवसायको क्षेत्रललाई नगरिएकोप्रति गुनासो समेत गर्नुभयो । उहाँले सरकारले क्यासिनोको आम्दानीबाट २ प्रतिशत अनिवार्य रुपमा संस्थागत सामाजिक उत्तरदायित्वमा लागनी गर्नुपर्ने व्यवस्था गरेको भन्दै होटललाई समेत सामाजिक उत्तरदायित्वमा केही प्रतिशत खर्च गर्न पाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस विधेयकले चार तारे र पाँच तारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । अनि होटलको १० प्रतिशत सेयर पनि दिनुपर्छ भनेको छ । होटेलको सेयर भएर अब क्यासिनो चलाउनुहुन्छ अनि क्यासिनो बन्द भएर त्यो भागिसकेको हुन्छ अनि त्यसको मार चाहिँ होटलले आज पनि भोगिरहेका छौँ । मुद्दा मामला गरिरहेका छौँ, जरिवाना तिरिरहेका छौँ र हामीले धेरै पटक छलफल गर्दाखेरि त्यो क्यासिनोमा होटलको सेयर हुनु हुँदैन ।  ऐच्छिक हुनुपर्छ । चाहेको खण्डमा मात्र लिन पाउनुपर्छ । तर मस्यौदाले अनिवार्य, म्यान्डेटरी गरेको छ, त्यो हुनु हुँदैन भन्ने हाम्रो जोडदार माग छ । होटलहरूले त्यसलाई मान्दैनन् र हामीले क्यासिनोहरूमा पनि धेरै पटक छलफल गर्दाखेरि यो नगर्ने भनेर निर्णय त भएको थियो तर अब कालन्तरमा यो कुरा हुँदाखेरि अहिले पनि यसमा १० प्रतिशत अनिवार्य शेयर हुनुपर्छ भनेर आइरहेको छ । यो हुनु हुँदैन । अब दफा ४० ले चाहीँ क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अलाउ गरेको छ । अब क्यासिनोमा चाहिँ हुने, हाम्रो होटलहरूमा किन नहुने ? होटलहरूमा आज ४० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड होटलहरू छन् । त्यसकारणले नेपालमा अब टेक्नोलोजी ल्याउनलाई विदेशीहरूले नेपालमा आएर काम गर्न इच्छुक छन् । उहाँहरूलाई पनि समेट्नु पर्छ ।  त्यसकारणले यो मस्यौदामा क्यासिनोलाई जस्तै विदेशी लगानीलाई पनि यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो हाम्रो मान्यता हो । त्यस्तै अब दफा ४२ ले चाहिँ क्यासिनोको खुद आयको २ प्रतिशत चाहीँ उसले सोसल रेस्पोन्सिबिलिटी, सीएसआरमा खर्च गर्न पाउँछ भनेर भनेको छ । हाम्रो माग के भन्दाखेरि होटलहरूले पनि सीएसआर जुन अब बजेटमा एक पटक आएको छ तर त्यो लागू भएको छैन, अर्थ मन्त्रालयसँग नै सोधायो फाइल हो । अब होटलहरूको खुद आम्दानीमा केही मात्रामा सीएसआरमा उसले खर्च गर्न पाओस् ।’
प्रश्तावित विधेयकले सगरमाथा आरोहण गर्न कम्तिमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमालचुली आरोहण गरेकै हुनुपर्ने व्यवस्था समेत प्रश्ताव गरेको छ । –न्युज एजेन्सी नेपाल