logo-image

बिहिबार, ०४ भदौ २०८३

सुकुम्बासी बस्ती विस्थापनको असर : शान्तिनगर सुकुम्बासी बस्तीबाट विस्थापित चम्बरबहादुर नेपालीद्वारा आत्महत्या

बिहिबार, ०४ भदौ २०८३ · समसामयिक

सुकुम्बासी बस्ती विस्थापनको असर : शान्तिनगर सुकुम्बासी बस्तीबाट विस्थापित चम्बरबहादुर नेपालीद्वारा आत्महत्या

काठमाडौं, भदौ ४ । काठमाडौंको शान्तिनगर (गैरीगाउँ) स्थित सुकुम्बासी बस्ती हटाउने क्रममा घर भत्किएपछि विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका छन्। शान्तिनगरबाट विस्थापित भई ललितपुरको टीकाथलीमा डेरा गरी बस्दै आएका नेपालीले बुधबार आत्महत्या गरेका हुन्।

बस्ती हटाउने क्रममा घर भत्किएपछि नेपाली परिवारसहित डेरा सर्न बाध्य भएका थिए। सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँ राहत रकम लिएर उनी श्रीमती र छोराछोरीसहित टीकाथलीमा बस्दै आएका थिए।

मृतक नेपालीको परिवारमा सात जना सदस्य रहेका छन्, जो पूर्ण रूपमा उनकै आम्दानीमा आश्रित थिए। एकाएक घरबारविहीन हुनुपरेको र डेराको खर्च धान्नुपरेका कारण उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कठिन मोडमा पुगेको बताइएको छ।

शान्तिनगरस्थित सुकुम्बासी बस्ती विस्थापितहरूमाझ आत्महत्याको घटना दोहोरिन थालेपछि सुकुम्बासी समस्या, विस्थापन र पुनःस्थापनाको प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।

स्थायी बसोबासको ठोस विकल्प र व्यवस्थापनविना बस्ती हटाउँदा प्रभावित परिवारको रोजगारी, शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनमा गम्भीर असर परेको भन्दै सम्बन्धित निकायले उनीहरूको सामाजिक–आर्थिक सुरक्षामा तत्काल ध्यान दिनुपर्ने माग जोडदार रूपमा उठ्न थालेको छ।