logo-image

बिहिबार, ०४ भदौ २०८३

नेपाल भलिबल लिग र एक्सट्रिम इनर्जीबीच पौने तीन करोडको सम्झौता

बिहिबार, ०४ भदौ २०८३ · समसामयिक

नेपाल भलिबल लिग र एक्सट्रिम इनर्जीबीच पौने तीन करोडको सम्झौता

काठमाडौं, भदौ ४ ।  पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ । 

नेपाल भलिबल लिगले बुधवार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य प्रायोजन घोषणा गरेको हो । उक्त सम्झौता आगामी तीन वर्षका लागि हुने लिग आयोजक क्रिया ग्रुपले जनाएको छ । एक्सट्रिम इनर्जीकी बिजनेस हेड सोनिया राणा र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले  मुख्य प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता तीन वर्षका लागि पौने तीन करोड बराबर रहेको एनभिएलका सिईओ सन्तोष उपाध्यायले जानकारी दिए । 

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले पुरूष भलिबल लिगले नेपाली भलिबल विकासमा ठूलो योगदान दिने आशा व्यक्त गरे । पहिलो संस्करणको फ्रेन्चाइज भदौ १९ देखि २७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।  यसअघि भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो । तर आयोजक केडिया ग्रुप गत शुक्रवार नयाँ मिति तय गरेको हो । कभर्डहल उपलब्ध नभएपछि मिति नयाँ घोषणा गरिएको आयोजकले जनाएको छ । पहिलो संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स,काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजले पहिलो प्रतिष्पर्धा गर्दैछन् ।

यसका लागि गत साउन १० गते घरेलु खेलाडीको अक्सन पनि भइसकेको छ । उक्त अक्सनबाट ६ टोलीले कुल ४२ खेलाडी खरिद गरेका छन् ।

नेपाल भलिबल संघ (एनभिए) को प्राविधिक सहयोगमा
आयोजक केडिया ग्रुपले पुरुष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो । अक्सनमा १ सय २९ खेलाडी राखिएको थियो । अन्तिम समयमा दुई खेलाडीले नाम फिर्ता लिए । अक्सन नियमअनुसार हरेक टिमले क्याटगोरी ‘ए’ का ४ खेलाडी लिनैपर्ने थियो । ६ टिममा ए क्याटगोरीका ५४ मध्ये २४ खेलाडी विक्री भए ।
हरेक टिमले समान तीन गरी कुल १८ विदेशी खेलाडी अनुवन्ध गर्नेछन् । सबै टिमले एक खेलाडी ट्यालेन्ट हन्टबाट लिनुपर्नेछ । 
नेपाल भलिबल संघ (एनभिए) ले दुई वर्षअघि नै सम्झौता गरे पनि लिग समयमै हुन सकेन । संघसँग केडिया ग्रुपले पहिलो पटक फ्रेन्चाइज लिग गर्न २०८१ जेठमै सम्झौता गरेको थियो । तर विभिन्न कारण देखाउँदै प्रतियोगिता समयमै हुन सकेको थिएन ।