logo-image

बिहिबार, ०४ भदौ २०८३

प्रधानमन्त्री साह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न

बुधबार, ०३ भदौ २०८३ · राजनीति

प्रधानमन्त्री साह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाडौं, भदौ ३ ।  प्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य कार्य र उपलब्धि सुनिश्चित गर्न कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक समारोहका बीच प्रधानमन्त्री र मन्त्रीहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गर्नुभएको हो । प्रधानमन्त्री साहसँग सम्झौता गर्ने मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रहनुभएको छ ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । कार्यसम्पादन सम्झौता समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थताका कारण र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसदको बैठकमा सहभागी हुनुपर्ने भएकाले उपस्थित हुन सक्नुभएन । बुधवार नै  प्रधानमन्त्री साहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले समेत कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।