logo-image

बिहिबार, ०१ असोज २०८३

‘सिएसआर’मार्फत सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर परिचालन गर्न सुझाव

बिहिबार, ०१ असोज २०८३ · समसामयिक

‘सिएसआर’मार्फत सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर परिचालन गर्न सुझाव

काठमाडौं, असोज १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौंलाई सुझाव दिनुभएको छ ।

बुधवार सडक डिभिजन काठमाडौंद्वारा ‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उहाँहरुले यस्तो सुझाव दिनुभएको हो । उहाँले सडक सुझाव एपलाई समस्या बटुल्ने माध्यमका रुपमा मात्र सिमित नराखी सक्रिय रूपमा सडकको अवस्था पहिचान गर्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्नसक्ने भन्दै नड्राइभ, पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने प्रश्ताव  गर्नुभयो । सांसद बमले चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्यांक संकलन गरी मर्मत कार्य गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एपमा रिक्वेस्ट र कम्प्लेन मात्रै कुरेर बस्नु हुँदैन । प्रोएक्टिभ बेसिसमा जानुपर्छ । राइडरहरूलाई निश्चित सडक खण्डको जिम्मेवारी दिएर नियमित रूपमा सडकको अवस्था, खाल्डाखुल्डी र क्षतिको फोटो तथा विवरण पठाउने व्यवस्था गर्न सकिन्छ ।’
रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत २४ सै घण्टा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम शुरु हुनु सकारात्मक शुरुवात भएको बताउनु भयो । उहाँले एपमार्फत सडक सुधारको कार्यलाई थप प्रभावकारी बनाउन सांसद, सरकार र नागरिकको साझेदारी आवश्यक रहेको पनि बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सडक मर्मतमा संघीय सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बनाइसकेका सडकका खाल्डाखुल्डी पुर्ने र गुणस्तर कायम गर्ने कामलाई पनि तिब्रता दिनुपर्छ । यी काम एकैपटक अघि बढे मात्रै नागरिकले सरकारको कामको परिणाम महशुस गर्न सक्छन् ।’
उहाँले सबै तहको सरकारबीच आपसी समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । 

ताजा समाचार