logo-image

बुधबार, ३१ भदौ २०८३

नेपालको सफलतासँगै अमेरिकामा पुग्दै बेहुली, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज हुने

बुधबार, ३१ भदौ २०८३ · मनोरञ्जन

नेपालको सफलतासँगै अमेरिकामा पुग्दै बेहुली, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज हुने

 

काठमाडौं, भदौ ३१ । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र 'बेहुली' अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रवार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने भएको हो। चलचित्रलाई ’सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले अमेरिकामा रिलिज गर्न लागेको हो । 
चलचित्रको अमेरिका प्रदर्शनसम्बन्धी सार्वजनिक जानकारी अनुसार 'बेहुली' अमेरिकाका २३ वटा राज्यमा रहेका विभिन्न चलचित्र हलमा प्रदर्शन हुनेछ । चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ । अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका चलचित्र हलमा 'बेहुली'का प्रदर्शन तय गरिएको छ ।
नेपालमा प्रदर्शनको क्रममा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको 'बेहुली'लाई अब अमेरिकामा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ पु¥याउन लागिएको प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताए । चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै नेपाली चलचित्रलाई विदेशमा रहेका दर्शकमाझ पु¥याउने क्रमलाई पनि यसले निरन्तरता दिएको उनले बताए । अमेरिकामा मात्र सीमित नरही 'बेहुली' अन्य मुलुकहरूमा समेत प्रदर्शन हुने तयारीमा रहेको छ । ती मुलुक र प्रदर्शन मितिबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने पोखरेलले बताए ।
यस चलचित्रमा पारस बम ठकुरी ’कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ ।  यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ । यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन् । चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन् ।