मङ्गलबार, ०१ मंसिर २०८३
सोमबार, ३० कात्तिक २०८३ · जीवनशैली
काठमाडौं, कात्तिक ३० । बलिउड अभिनेता शरद कपूर पछिल्लो समय आफ्नो स्वास्थ्य र घरको दयनीय अवस्थाका कारण चर्चामा छन्। आफ्ना चारवटा कुकुरको हेरचाहका लागि साथी हेमा चौधरीसँग सहयोग मागेपछि उनको अवस्था सार्वजनिक भएको हो। सामाजिक सञ्जालमा भाइरल भिडियोमा उनी वाकरको सहाराले हिँडिरहेको देखिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईस्थित उनको घर फोहोर र दुर्गन्धले भरिएको अवस्थामा पाइएको थियो। तर शरदले आफूलाई आर्थिक सहयोगभन्दा पनि घर सफा गर्ने व्यक्ति र राम्रो कामको आवश्यकता रहेको बताएका छन्। उनले घर बेचेर अन्यत्र सर्ने योजना पनि सुनाएका छन्।
फुटबल खेल्दा खुट्टा भाँचिएपछि आफू लामो समयदेखि कामबाट टाढिएको र मानसिक तनावमा परेको उनको भनाइ छ। सन् २०२४ मा आफूमाथि यौन दुर्व्यवहारको उजुरी परेपछि डिप्रेसनमा गएको पनि उनले बताएका छन्।
सन् १९९४ मा अभिनय यात्रा सुरु गरेका शरद ‘दस्तक’, ‘जोश’, ‘लक्ष्य’, ‘वान्टेड’ र ‘जय हो’ जस्ता फिल्मबाट चर्चित बनेका थिए। ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनी अहिले पुनः फिल्म क्षेत्रमा फर्किन चाहन्छन्। उनले बलिउड, कलाकार संघ सिन्टा तथा ओटीटी प्लेटफर्मसँग कामको अवसर दिन आग्रह गरेका छन्।