logo-image

सोमबार, ३० कात्तिक २०८३

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिने छठ पर्व सम्पन्न

सोमबार, ३० कात्तिक २०८३ · जीवनशैली

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिने छठ पर्व सम्पन्न

काठमाडौं, कात्तिक ३० ।  आज बिहान उदाउँदो सूर्यदेवलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि चार दिने छठ पर्व विधिपूर्वक सम्पन्न भएको छ।

हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर नदी, पोखरी तथा तालको किनारामा रातभर जाग्राम बसेका व्रतालुहरूले आज बिहान ६ बजेर १९ मिनेटको सूर्योदयसँगै कम्मरसम्मको पानीमा डुबेर सूर्यको दर्शन गरेसँगै घाटहरूमा प्रसाद वितरण सुरु गरेका छन्।

सन्तान प्राप्ति, पारिवारिक सुख, दीर्घायु र मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म कठोर व्रत बसी मनाइने यस पर्वमा हिजो साँझ राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो।

तराईको मिथिला संस्कृतिमा आधारित यो पर्व वि.सं. २०४६ पछि काठमाडौँ लगायत पहाडी क्षेत्रमा समेत विस्तार हुँदै हाल गौरीघाट, कमलपोखरी, बागमती दोभान, बल्खु र बालाजु बाइसधारा लगायतका क्षेत्रमा भव्य रूपमा मनाइन्छ। पर्वलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाले भिड व्यवस्थापन, स्वास्थ्य सेवा तथा व्रतालुलाई घर पुर्‍याउने जस्ता सुविधा उपलब्ध गराएको छ।