logo-image

मङ्गलबार, २३ भदौ २०८३

बाढीपीडितका लागि संगीतसँगै जुट्यो चार लाखभन्दा बढी सहयोग

मङ्गलबार, २३ भदौ २०८३ · समसामयिक

बाढीपीडितका लागि संगीतसँगै जुट्यो चार लाखभन्दा बढी सहयोग


काठमाडौं, भदौ २३ । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगका लागि काठमाडौंमा सांगीतिक कार्यक्रम आयोजना गरी ४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ ।

पीआरभी इन्टरटेनमेन्टको आयोजनामा ट्रिसारा रेष्टुरेन्टमा एक्सिस ब्याण्डको सहकार्यमा आयोजित सांगीतिक फन्डरेजिङ कार्यक्रमबाट कुल ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ संकलन भएको हो । कार्यक्रममा सहभागी अतिथि तथा शुभेच्छुकले खरिद गरेका टिकटबाट प्राप्त रकमसँगै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत जोडेर उक्त रकम संकलन गरिएको आयोजकले जनाएको छ ।

गत अगस्ट २६, २०२६ मा रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीका कारण मानव जीवनमा क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । विपद्का कारण प्रभावित परिवार तथा स्थानीय समुदाय अहिले पनि राहत, पुनस्र्थापना र सहयोगको आवश्यकता रहेको अवस्थामा छन् ।

यही मानवीय अवस्थालाई मध्यनजर गर्दै पीआरभी इन्टरटेनमेन्ट र एक्सिस ब्याण्डले संगीतलाई सामाजिक सेवासँग जोड्दै सहयोग संकलन कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, व्यवसायी, शुभेच्छुक तथा समुदायका सदस्यको सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत संकलित सम्पूर्ण ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ भोटेकोशी राहत कोषलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगमा उपयोग गरिनेछ ।

आयोजकका अनुसार विपद्को समयमा पीडित समुदायलाई सहयोग पु¥याउन सामूहिक प्रयास आवश्यक हुने भएकाले सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्य राखिएको थियो । कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ ।