logo-image

मङ्गलबार, २३ भदौ २०८३

पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र

मङ्गलबार, २३ भदौ २०८३ · अन्तर्राष्ट्रिय

पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र
काठमाडौं, भदौ २३ ।   पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौ जना बेपत्ता रहेका छन्। त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिवार दुई जना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आईतवार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ । 
हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ । उद्धार टोलीका सदस्य वान कियाङकाअनुसार, भारी उपकरण, उद्धार टोली र राहत सामग्री मुख्य प्रभावित क्षेत्रसम्म पु¥याउनका लागि अवरुद्ध सडक र नदीका मार्गहरू खोल्ने काम तिब्र गतिमा भइरहेको छ । 
गाओपिङ टाउनका उपप्रमुख लियाङ कुआनले मिङकेङ गाउँका सबै प्रभावित बासिन्दाहरूलाई वुझिफेङ टाउनसिपको एक होमस्टेमा स्थानान्तरण गरिएको जानकारी दिए । हाल त्यहाँ करिब २०० जना आश्रय लिइरहेका छन् । विस्थापितहरूका लागि भोजन, बसोबास र औषधि उपचारको व्यवस्था गरिएको छ भने एक व्यावसायिक मेडिकल टोली समेत परिचालन गरिएको छ । 
सम्भावित थप विपद्लाई मध्यनजर गर्दै छिमेकी क्षेत्रहरूबाट ५,३०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । ‘साउदेल’ नामक चक्रवातका कारण परेको मुसलधारे वर्षाले जियान्ग्सी प्रान्तका कुल १,६१,५०० बासिन्दा प्रभावित भएको तथ्यांक छ । 
विपद्को गम्भीरतालाई हेर्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जियान्ग्सीका लागि भौगर्भिक विपद् प्रतिकार्य स्तरलाई चौथोबाट बढाएर तेस्रो तहमा पु¥याएको छ । उद्धार कार्यमा मार्गदर्शन गर्न मन्त्रालयले एक कार्यदल समेत घटनास्थलमा पठाएको छ । 
यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले आपत्कालीन उद्धार र राहत कार्यका लागि केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट २ करोड युआन (करिव २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ। चीनमा विपद् व्यवस्थापनका लागि चार–तहको आपत्कालीन प्रणाली रहेको छ, जसमा प्रथम तह सबैभन्दा गम्भीर मानिन्छ ।