logo-image

बिहिबार, १९ कात्तिक २०८३

एनपिएल आज: चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै, समर्थकहरूलाई काठमाडौं ल्याउन ५ वटा बस रिजर्भ

सोमबार, १६ कात्तिक २०८३ · खेलकुद

एनपिएल आज: चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै, समर्थकहरूलाई काठमाडौं ल्याउन ५ वटा बस रिजर्भ

 

काठमाडौं, कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा रोमाञ्चक खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा दिउँसो १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।

प्रतियोगितामा चितवन राइनोज अहिलेसम्म अपराजित टोलीको रूपमा रहेको छ। चितवनले आफ्नो पहिलो खेलमा सानदार जित निकालेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँड्नुपरेको थियो। यता, सुदूरपश्चिम रोयल्सले भने हालसम्म खेलेका तीनवटा खेलमा एकमा जित र दुईमा हार व्यहोरेको छ। आजको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

साँझ हुने यसै महत्त्वपूर्ण तथा रोमाञ्चक खेललाई प्रत्यक्ष अवलोकन गर्नका लागि चितवन राइनोज क्रिकेट क्लबका समर्थकहरू ५ वटा रिजर्भ बसमार्फत चितवनबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन्। आफ्नो टोलीलाई मैदानमै पुगेर हौसला प्रदान गर्न चाहने दर्शकहरूका लागि यो विशेष व्यवस्था गरिएको हो।