शनिबार, २८ कात्तिक २०८३
शुक्रबार, २७ कात्तिक २०८३ · समसामयिक
भारत, कात्तिक २७ । भारतको मध्यप्रदेशस्थित डिन्डोरी जिल्लामा मिठाई भन्दै दिइएको विस्फोटक पदार्थ विस्फोट हुँदा एक युवकको ज्यान गएको छ। गाउँकै एक व्यक्तिले रसगुल्ला भन्दै दिएको वस्तु मुखमा राखेर टोक्दा ३५ वर्षीय राजेन्द्र बरौतियाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ८ बजे पडरिया छन्ता गाउँमा घटना भएको हो। खाना खाइसकेपछि घरको आँगनमा आगो तापेर बसिरहेका राजेन्द्रलाई छिमेकी रामभगत बरौतियाले भेट्न पुगेका थिए। कुराकानीकै क्रममा उनले राजेन्द्रलाई रसगुल्ला भन्दै सुँगुर मार्न प्रयोग गरिने विस्फोटक पदार्थ दिएको आरोप छ।
मिठाई सम्झेर राजेन्द्रले उक्त वस्तु मुखमा राखेर टोक्नेबित्तिकै विस्फोट भएको थियो। विस्फोटबाट उनको मुखमा गम्भीर चोट लागेको थियो। परिवारका सदस्यले तत्काल उनलाई जिल्ला अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ। घटनामा संलग्न रहेको आरोपमा रामभगत बरौतियाविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ तथा विस्फोटक पदार्थ ऐनका दफा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रहरीले विस्फोटक पदार्थ आरोपितले कहाँबाट ल्याए र यस्तो घटना गराउनुको पछाडिको कारण के थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। मिठाईको नाममा विस्फोटक पदार्थ दिइएको र त्यसकै कारण युवकको मृत्यु भएको घटनाले गाउँमा त्रास र शोक फैलिएको छ।