logo-image

बुधबार, २७ जेठ २०८३

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

बुधबार, २७ जेठ २०८३ · समसामयिक

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह


काठमाडौं, जेठ २७ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । 

बैंकका अनुसार ग्राहकहरूको खाताबाट कट्टा गरिएको करको विवरण आयकर ऐन, २०५८ बमोजिम नेपाल सरकारको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल तथा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभर रहेका बैंकका जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीबाट कट्टा गरिएको करको विवरण ई–टिडिएस प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण सम्बन्धित प्यान नम्बरमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा विवरण मिलान गर्नेछ । यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा यस्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ । बैंकले प्यान अद्यावधिक नगरिएका कारण ई–टिडिएसमा ब्याजकर दाखिला नभएमा वा त्यसपश्चात् करमा थप समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी बैंकले नलिने जनाएको छ ।

यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपमार्फत ‘चेन्ज ईमेल अप्सन’ प्रयोग गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । साथै, बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

बैंकले यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टी विवरण समावेश नभएका वा ईमेल ठेगाना अद्यावधिक नभएका ग्राहकलाई नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ । ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।