logo-image

सोमबार, १५ भदौ २०८३

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणको आग्रह

सोमबार, १५ भदौ २०८३ · समसामयिक

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणको आग्रह

 

काठमाडौं, भदौ १५ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र आवश्यक सामग्री पुर्‍याउन वैकल्पिक सडक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। भदौ १० गतेको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ लगायतका जिल्लाहरू नराम्ररी प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरलाई आवश्यकता अनुसार परिचालन गरिएको छ भने सम्भव भएसम्म स्थलमार्गबाट समेत राहत सामग्री तथा उद्धार टोली पठाउन सम्बन्धित निकायलाई भनिएको छ। हाल मुख्य सडकहरू अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएका वैकल्पिक मार्गहरूमा धादिङतर्फ धादिङबेँसी–परेवाटार–नौबिसे–नागढुङ्गा र नुवाकोटतर्फ विदुर–छहरे–आम्राङ लगायतका मार्गहरू प्रयोग गर्न सकिनेछ।

राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सबै सम्बन्धित पक्षलाई आपसी समन्वयमा खटिन प्राधिकरणले निर्देशन दिएको छ। यसैबीच, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा अझै पनि भारी वर्षाको सम्भावना रहेकोले सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।