सोमबार, ०७ वैशाख २०८३
सोमबार, ०७ वैशाख २०८३ · अर्थ
काठमाडौं, वैशाख ७ । सेयरबजारम आजदेखि नयाँ नियम लागू भएको छ । अब पूरा दिनमा ८ प्रतिशतले बजार घटबढ भएमात्रै बजार बन्द हुने व्यवस्था गरिएको छ ।
यसअघि पहिलो घन्टामा ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक र पूरा दिनका लागि ६ प्रतिशतले घटबढ हुँदा बजार बन्द हुने गरेको थियो । नयाँ व्यवस्था अनुसार पहिलो दुई घन्टामा ५ प्रतिशत घटबढ भए १५ मिनेटका लागि कारोबार रोकिने र त्यसपछिको दुई घन्टामा ८ प्रतिशतले बढेपछि सो दिनकै कारोबार बन्द गरिनेछ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ परिमार्जन गर्दै सोमबारदेखि लागू हुने गरी संसोधन गरिएको हो । साथै,कुनै पनि कम्पनीको मूल्य अब १५ प्रतिशतले घटबढ भएमात्रै त्यो दिनका लागि उक्त कम्पनीको कारोबार रोकिनेछ । जुन यसअघि १० प्रतिशत रहेको थियो । त्यसैगरी अब सेयर खरिद बिक्रीका लागि चौविसै घन्टा अर्डर गर्न मिल्ने भएको छ ।
जुन अहिलेसम्म ११ देखि ३ बजेसम्मको अवधिमा मात्रै सेयर कारोबार गर्न मिल्ने गरेको थियो । तर, अर्डरको कारोबार भने बजार खुलेकै समय अर्थात् बिहान ११ देखि ३ बजेसम्ममा मात्र हुनेछ । यस्तै, अब प्रि–ओपन सेसनमा कुनै कम्पनीको अघिल्लो मूल्यभन्दा ५ प्रतिशतसम्म घटबढ गरेर अर्डर हाल्न पाइने भएको छ ।
जुन अहिलेसम्म २ प्रतिशतसम्मको सिमा रहेको थियो । साथै अब कुनै कम्पनीको सेयर किनबेचका लागि अर्डर गर्दा अघिल्लो भन्दा बढीमा ३ प्रतिशतसम्म घटबढ गरेर अर्डर गर्न पाइने भएको छ । यसअघि यस्तो सीमा २ प्रतिशतसम्म थियो ।
तर, सेयरबजार सम्वन्धि नयाँ नियममा भने सरोकारवालाहरुले आपत्ति जनाएका छन् । यो अहिले लगानीकर्ताको माग भन्दा बिपरितको रहेको उनिहरुको भनाई छ । नयाँ व्यवस्थाका कारण बजारमा साना लगानीकर्ता मर्कामा पर्ने र अहिलेको समयमा यो आवश्यक नरहेको उनीहरुको भनाइ छ । अहिलेको समयमा धेरै घटबढ हुन दिने गरी बजारमा नयाँ व्यवस्था ल्याउन उचित नहुने बिज्ञ तथा लगानीकर्ताको धारणा छ ।