logo-image

शुक्रबार, ०८ जेठ २०८३

ईशान र रोहितको सुपर सोलिड साझेदारी: अमेरिकामाथि नेपालको १२२ रनको रबाफिलो जित, शीर्ष चारको सम्भावना कायमै

शुक्रबार, ०८ जेठ २०८३ · खेलकुद

ईशान र रोहितको सुपर सोलिड साझेदारी: अमेरिकामाथि नेपालको १२२ रनको रबाफिलो जित, शीर्ष चारको सम्भावना कायमै

काठमाडौं, जेठ ८ । ईशान पाण्डे र रोहितकुमार पौडेलको शतकीय साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा अमेरिकामाथि सहज जित निकालेको छ । कीर्तिपुरमा शुक्रवार भएको खेलमा उत्कृष्ट ब्याटिङ प्रेरणामा नेपालले अमेरिकामाथि १२२ रनको सहज जित निकाल्दै लिग–२ को शिर्ष चार होडमा सम्भावना जीवन्त राखेको छ ।

घरेलु टोलीको जितमा दुई ब्याटरले अर्धशतक र दुई ब्याटर अर्धशतकनजिक रहे । साथै ईशान र रोहितले ११० रनको बलियो शतकीय साझेदारी महत्वपूर्ण रह्यो । यो जितसँगै २८ खेलबाट पाँचौं स्थानको नेपालले २४ अंक जोड्यो । जुन चौथो स्थानको नेदरल्यान्ड्सभन्दा चार अंकले पछि छ । यद्यपि, डच टोलीले २४ खेल मात्र खेलेको छ । एक महिनाभित्र घरेलु मैदानमा सम्पन्न दुई वटा त्रिकोणात्मक श्रृंखला (आठ खेल) नेपालले ६ खेलको नतिजा आफ्नो बनाउँदै शिर्ष चार होड जीवन्त राखेको छ । 

यस क्रममा अमेरिकाले अंकतालिकाको शीर्ष तीन टोली (अमेरिका, स्कटल्याण्ड र ओमान) माथि जितसँगै शीर्ष चारको सम्भावना जीवन्त राख्यो । शीर्ष स्थानको अमेरिकामाथि भने नेपालले दुई जित नै आत्मसात ग¥यो । दुवै खेलमा घरेलु टोलीले अमेरिकामाथि रबाफिलो जितसँगै लिग–२ को आगामी शृंखलाका लागि बलियो आत्मबल बटुलेको छ । त्रिवि क्रिकेट स्टेडियममा नेपालले तीन सय १८ रनको विशाल लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा अलआउट हुन पुग्यो । खाता नखोल्दै ओपनर समित पटेल शून्यमा पभेलियन फर्किए । सोमपाल कामीले समितलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उत्कृष्ट  शुरुवात दिलाए । 

दोस्रो विकेटका लागि सायन जहाँगिर र शेहान जयासूर्याले ५३ रनको साझेदारी गरे । सायन २७ रन र शेहान २६ रनमा आउट भए । त्यसपछि अमेरिकाले राम्रो साझेदारी बनाउन सकेन । स्पिनर सन्दीप लामिछाने र ललित राजबंशी छिटै तीन विकेट लिँदै दबाब बनाए । मिलिन्द कुमार १२, शुभम् रन्जाने २ रन र कप्तान मुकामल्ला २२ रनमा आउट हुँदा हरमित सिंह शून्यमै पभेलियन फर्किए । २२.३ओभरमा अमेरिका ९५÷७ को नाजुक अवस्थामा पुग्यो । तर, आठौं विकेटका लागि सन्जय कृष्णमुर्ति र नोस्तुज केन्जिगेले ७० रनको साझेदारी गर्दै जितको आशा राखे । ३५औं ओभारमा गुलसन झाले कृष्णमुर्तिलाई ५६ रनमा बोल्ड गर्दै ठूलो सफलता दिलाए । ४४ बलमा समान चार चौका र छक्का प्रहार गर्दै कृष्णमूर्तिले घरेलु बलरमाथि हाबी भए । नोस्तुजले २९रन र सौरभ नेत्राभाल्करले १० रन जोड्दै हारको अन्तर कम गरे ।
नेपालको बलिङमा सन्दीप लामिछानेले तीन तथा ललित नारायण राजवंशी, गुलसन र दीपेन्द्रसिंहले दुई र सोमपाल कामीले एक विकेट लिए । त्यसअघि टस जितेर बलिङ गर्ने अमेरिकाको निर्णय सही साबित भएन । राम्रो सुरुआत पाएको नेपालले इनिङको अन्त्यसम्म उत्कृष्ट ब्याटिङ ग¥यो । पूरै ओभरमा नेपालले आठ विकेटको क्षतिमा तीन सय १७ रनको विशाल योगफल जोड्यो । ईशानले ८४ रन र दीपेन्द्रसिंह ऐरी ५९ रनको अर्धशतकीय इनिङ खेले । ओपरनद्वय आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । १३औं ओभरमा कुशल २९ रनमा आउट भए । शुभम रन्जानेले कुशललाई कप्तान साइतेजा मुकामल्लाबाट क्याच गराउँदै ब्रेक थ्रु दिलाए । अर्का ओपनर आसिफ ४३ रनमा पभेलियन फर्किए । कुशलले ३९ बलमा पाँच चौका र आसिफले ६ चौका हिर्काए । १८.३ ओभरमा नेपाल ८४÷२ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि रोहित र ईशानले शतकीय साझेदारी गर्दै राम्रो योगफलतर्पm अग्रसर गराए । ३८औं ओभरमा रोहित ४६ रनमा एलबिडब्लु हुन पुगे । ५९ बलमा उनले दुई चौका र एक छक्का प्रहार गरे । नेपाल १९४/३ को राम्रो स्थितिमा थियो । ईशान ८४ रनमा चौथो विकेटका रूपमा आउट भए । उनले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे । यसै शृंखलाबाट डेब्यु गरेका ईशानले उत्कृष्ट लय देखाए । उनले ८३ बलमा आठ चौका र एक छक्का हिर्काए । त्यसपछि आएका दीपेन्द्रले ३६ बलमा ५९ रन जोड्दै आक्रामक ब्याटिङ गरे । उनको इनिङमा समान चार चौका र छक्का हिर्काए । गुलसन झाले १५ र आरिफ शेखले १८ रन जोड्दै नेपालको इनिङमा साथ दिए । अन्तिम पाँच ओभरमा ६१ रन जोड्दै नेपालले सुधारिएको प्रदर्शन ग¥यो ।

डेथ ओभरमा नेपालले सुधारिएको प्रदर्शन देखाएको हो । अमेरिकाको बलिङमा शुभमले १० ओभरमा तीन विकेट लिए पनि महंगा साबित भए । रुसिल उगारकर र मिलिन्द कुमारको नाममा समान एक विकेट रह्यो । नेपालले तीन विकेट रनआउटका रूपमा गुमायो ।