आइतबार, ३१ साउन २०८३
आइतबार, ३१ साउन २०८३ · समसामयिक
ललितपुर, साउन ३१ । ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।
महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रुपमा गर्नुभएको हो । महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठकाअनुसार यस परियोजनाको कुल क्षेत्रफल भने १३ रोपनी ६ आना २ पैसा ३ दाम रहेको छ । उक्त परियोजना करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । ६.७१ रोपनी क्षेत्रफल रहेको पोखरीको पानी धारण क्षमता करिब १९ लाख लिटर रहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरी वरिपरि करिब दुई मिटर चौडा पैदलमार्ग, घाँसे मैदान र फूलबारी निर्माण गरिएको छ । सार्वजनिक तथा परम्परागत उपयोगका लागि सात बे को एउटा र तीन बे का दुईवटा गरी तीन वटा फल्चा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सुरक्षाका लागि बत्ती जडान गरिएको छ । चराचुरुङ्गी तथा अन्य जैविक प्रणालीमा असर नपरोस् भनेर कम प्रकाश दिने बत्ती प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । सप्तपाताल पोखरीलाई छेउमै रहेको पलेस्वा पोखरीसँग जोड्न पैदलयात्री पुलसमेत निर्माण गरिएको छ । उहाँकाअनुसार पोखरी प्रवेशका लागि पश्चिमतर्फ एक तथा पूर्वतर्फ दुई गरी तीनवटा सिँढी बनाइएको छ । पुनर्निर्माणका क्रममा परिसरमा रहेको पुरानो रूख संरक्षण गर्न मूल डिजाइनसमेत परिवर्तन गरिएको श्रेष्ठले जानकारी दिन्भयो । महानगरपालिकाले पोखरीमा नियमित पानी आपूर्ति सुनिश्चित गर्न पुरानो राजकुलो प्रणाली पुनर्जीवित गर्ने काम अघि बढाएको छ । यसका लागि गोदावरी नगरपालिकासँग सहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । नल्लु–टीकाभैरवदेखि सप्तपातालसम्मको करिब १४.२ किलोमिटर राजकुलो प्रणालीलाई चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाई छ । राजकुलो प्रणाली पुनर्जीवित भएपछि सप्तपाताल पोखरीमा परम्परागत प्रणालीअनुसार पानी ल्याउन सहज हुने उहाँले बताउनु भयो । पुनर्निर्माण गरिएको पोखरीलाई दीर्घकालीन रूपमा संरक्षण र सञ्चालन गर्न पानीको स्रोत पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस परियोजनाको कुल निर्माण स्थलको क्षेत्रफल १३ रोपनी, ६ आना, २ पैसा, ३ दाम रहेको छ । त्यस्तै पोखरीको एक्चुअल क्षेत्रफल चाहिँ ६.७१ रोपनी रहेको छ अर्थात् कुल निर्माण स्थलको करिब ५० प्रतिशत भागमा पोखरी फैलिएको छ । पोखरीमा पानीको अनुमानित मात्रा १९ लाख लिटर रहेको हामीले चाहिँ अनुमान गरेका छौँ । त्यस्तै गरी पोखरीमा पर्खालबाट करिब २ मिटर चौडाइमा हामीले घाँसे मैदान विकास गरेका छौँ, फूलबारीहरू पनि विकास गरेका छौँ । त्यस्तै पोखरीको वरिपरि करिब २ मिटर चौडाइको पैदल मार्गको व्यवस्थापन गरिएको छ । पोखरीको वरिपरि निर्माण क्षेत्र स्थल भित्र हाम्रो यो परम्परागत स्वरूपको सार्वजनिक उपयोगको लागि सात बे को एउटा र तीन बे को दुइटा गरी कुल तीन वटा फल्चाको निर्माण गरिएको छ । त्यस्तै सुरक्षाको दृष्टिकोणले दुई वटा पोल सहितको बत्ती पनि जडान गरिएको छ । इकोलोजिकल्ली पनि र अलि फ्रेन्डली होस् भन्ने उद्देश्यले रात्रिको समयमा चराचुरुङ्गीलाई असर नपरोस् भन्ने उद्देश्यले एकदम डिम लाइटको पनि सहितको बल्बहरूको व्यवस्थापन गरिएको छ । हाम्रो नगर प्रमुखज्यूको जुनकिरी देखाउने जुन सपना छ, त्यो पनि राम्रोसँग देखियोस् । धेरै लाइट भयो भने फेरि देखिँदैन, इकोलोजिकल्ली पनि डिस्टर्ब हुन्छ, चराचुरुङ्गीलाई पनि डिस्टर्ब हुन्छ । त्यो अनुसारले त्यो कुरालाई पनि हामीले ध्यानमा राखेर एकदम मन्द प्रकाश सहितको बल्बहरूको जडान गरिएको छ । त्यस्तैगरी सँगै रहेको पलेसवा पोखरीसँग सप्तपाताल पोखरीलाई जोड्न पैदलयात्री एउटा पुलको पनि व्यवस्थापन गरिएको छ । पोखरीमा सर्वसाधारणलाई जानको लागि पश्चिम तर्फ एउटा र पूर्व तर्फ दुई वटा गरी कुल तीन वटा सिँढीहरूको व्यवस्थापन गरिएको छ । यस परियोजनाको कुल लागत ४ करोड ७२ लाखको हाराहारीमा रहेको छ ।’
लिच्छविकालदेखि अस्तित्वमा रहेको सप्तपाताल पोखरी पाटनको परम्परागत जल व्यवस्थापन प्रणालीको महत्वपूर्ण हिस्सा थियो । चक्रपथ निर्माण तथा विस्तारसँगै नल्लु–टीकाभैरव क्षेत्रबाट सप्तपातालसम्म पानी ल्याउने करिब १४.२ किलोमिटर लामो परम्परागत राजकुलो प्रणालीका विभिन्न खण्डमा अवरोध भएपछि पोखरीमा पानीको आपूर्ति घट्दै गएको थियो । पानीको स्रोत सुक्दै गएपछि पोखरी चौरमा परिणत भएको र अतिक्रमणमा परेको श्रेष्ठको भनाई छ । पोखरी संरक्षणका लागि स्थानीयवासी र लगनखेल वातावरण सुधार संस्थाले लामो समयदेखि पहल गर्दै आएका थिए । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पूर्ण स्थापितको नेतृत्वमा भएको संरक्षण अभियानपछि सर्वोच्च अदालतले पोखरीकै नाममा जग्गाको लालपुर्जा कायम रहने गरी फैसला गरेको श्रेष्ठले जानकारी दिनुभयो । जग्गा पोखरीको नाममा कायम भएपछि महानगरपालिकाले पुनर्निर्माण अघि बढाएको उहाँको भनाई छ ।
बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
५८ मिनेट अगाडि