आइतबार, ३१ साउन २०८३
आइतबार, ३१ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ३१ । अविरल बर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ ।
साउन ३० गते साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी सोही ठाउँ बस्ने ६२ बर्षिय राम बहादुर शाही, ४५ बर्षिय सिद्धि बहादुर कामी, ५८ बर्षिया कमला कार्की, २३ बर्षिया अनिता कार्की, १० बर्षिय युनिस शाही, ४५ बर्षिया सुन्तली चदरा र ६१ बर्षिया भद्रकला कार्की घाईते भएका छन् । घाईतेहरुमध्ये राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको छ ।
उक्त पहिरोमा परी वेपत्ता भएकाहरुको खोजीकार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात नेपालगंज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ बर्षिय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ बर्षिया उमा सिँह खत्री र ८३ बर्षिया रति खत्रीको शव खोजीकार्यको क्रममा फेला पारिएको छ ।
यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० बर्षिय भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ बर्षिय हरिस बि.क. अझै वेपत्ता छन् । हरिस बि.क. पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्क विहिन भएका हुन् । खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरुकोे खोजीकार्य जारी राखेको छ । उक्त पहिरोमा परी सोही ठाउँका ८ वटा घरहरुमा समेत ठुलो क्षति पुगेको छ ।
बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
एक घण्टा अगाडि