बिहिबार, २८ साउन २०८३
बिहिबार, २८ साउन २०८३ · राजनीति
काठमाडौं, साउन २८ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ ।
बिहीवार देउवा स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोईरालाले यस्तो दाबी गर्नुभएको हो । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताउनु भयो । कोईरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गर्नुभयो । पार्टी सभापति गगनकुमार थापाप्रति (संस्थापन समूह) लक्षित गर्दै उहाँले पार्टीबाट छुट्टिएर गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सानेपा काँग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली काँग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ की छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’
उहाँले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल