logo-image

मङ्गलबार, २० असोज २०८३

गोप्य सूचना चुहाए कडा कारबाही हुन्छ: गृह मन्त्रालयका कर्मचारीलाई गृहमन्त्री सुधन गुरुङको कडा चेतावनी

मङ्गलबार, २० असोज २०८३ · समसामयिक

गोप्य सूचना चुहाए कडा कारबाही हुन्छ: गृह मन्त्रालयका कर्मचारीलाई गृहमन्त्री सुधन गुरुङको कडा चेतावनी

 

काठमाडौं, असोज २० ।  गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन्। मन्त्रालयका गोप्य तथा संवेदनशील सूचनाहरू अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति बढेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्नलाई कडा कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लामो समयदेखि केही कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी संवेदनशील जानकारी बाहिर पठाइरहेको प्रवृत्तिलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन्।

राज्यको सूचना निजी सम्पत्ति होइन: गृहमन्त्री गुरुङ
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, यो सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई दिँदैन,” मन्त्री गुरुङले भनेका छन्। उनले कार्यालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन र भविष्यका गम्भीर घटनाहरूको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन्।

कुनै पनि कर्मचारी वा पदाधिकारीले आफ्नो जिम्मेवारी बिर्सिएर राष्ट्र र संगठनको गोपनीयतामाथि आँच पुर्‍याउने काम सह्य नहुने उनको चेतावनी छ।

“चाहे त्यो अधिकारी होस् वा कर्मचारी, गृह मन्त्रालय वा मातहतका निकायमा बसेर देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैले पनि कुनै उन्मुक्ति पाउने छैन। कानुनको कठघरामा उभ्याइनेछ,” गृहमन्त्री गुरुङले कडा चेतावनी दिएका छन्।