सोमबार, २६ असोज २०८३
सोमबार, २६ असोज २०८३ · राजनीति
काठमाडौं, असोज २६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरूको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमवार भारत प्रस्थान गरेको हो । सदस्य मुलुकहरूबीच गृह प्रशासन र आन्तरिक सुरक्षाको क्षेत्रमा बहुपक्षीय समन्वय विस्तार गर्ने उद्देश्यका साथ आयोजित यो सम्मेलनलाई क्षेत्रीय सुरक्षा दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । सम्मेलनमा नेपालले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार हुने अन्तरदेशीय अपराध नियन्त्रण, बढ्दो साइबर सुरक्षा चुनौती, आतंकवादविरुद्धको साझा लडाइँ तथा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन सम्बन्धी साझा प्राथमिकताहरू प्रश्तुत गर्ने कार्यतालिका रहेको छ । खुला सीमाना, जलवायुजन्य विपद् तथा प्रविधिमा आधारित संगठित अपराधको चुनौती झेलिरहेको सन्दर्भमा नेपालले सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदानप्रदान र क्षमता अभिवृद्धिमा जोड दिने तयारी गरेको छ । आयोजक तथा सहभागी राष्ट्रहरूमध्ये सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा गुरुङको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विशेष ध्यान आकर्षित गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार यो सहभागिताले नेपालको युवा नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा सकारात्मक सन्देश दिने विश्वास लिइएको छ । भारत बसाइका क्रममा गृहमन्त्री गुरुङले सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिमस्टेक सदस्य राष्ट्रका समकक्षी गृहमन्त्रीहरूसँग द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ । भ्रमण दलमा गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।