सोमबार, २६ असोज २०८३
सोमबार, २६ असोज २०८३ · समसामयिक
नवलपरासी, असोज २६ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७:३० बजे काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र एक जनाको अवस्था मध्यम रहेको छ। बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकमा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।