सोमबार, २६ असोज २०८३
सोमबार, २६ असोज २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, असोज २६ । चिनियाँ कम्युनिस्ट क्रान्तिको इतिहासमा महत्वपूर्ण मोड मानिएको दक्षिण–पश्चिमी प्रान्त गुइझोउस्थित जुनयी शहरले आफ्नो क्रान्तिकारी विरासतलाई आत्मसात गर्दै तिब्र गतिको आधुनिकीकरण र आर्थिक समृद्धिको मार्ग पछ्याइरहेको छ ।
सन् १९३५ मा भएको ऐतिहासिक ‘जुनयी बैठक’का कारण ‘ऐतिहासिक मोडको शहर’ भनेर चिनिने यस क्षेत्रले सन् २०२६ मा लङ मार्च विजयको ९० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा इतिहास संरक्षण र जनजीविका सुधारका आधुनिक प्रयासहरूलाई सँगसँगै अघि बढाएको छ । चीनको आधुनिक राजनीतिक इतिहासमा जुनयी बैठकलाई लङ मार्च र चिनियाँ क्रान्तिको दिशा बदल्ने निर्णायक मोडका रूपमा लिइन्छ । उक्त ऐतिहासिक घटनाको करिव नौ दशक पुग्न लाग्दा यो शहरले आफ्नो पुरानो विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ ।
संग्रहालय तथा रंगमञ्चहरूमा भर्चुअल रियालिटी (भीआर) जस्ता डिजिटल प्रविधिको प्रयोग गरी क्रान्तिकारी इतिहासलाई जीवन्त र अन्तरक्रियात्मक बनाइएको छ, जसले ‘रातो पर्यटन’ (रेड टुरिज्म) मार्फत आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । जुनयी बैठक स्मृति संग्रहालयका आगन्तुक सेवा विभागका सु हेङकाअनुसार संग्रहालयले जनचेतना र प्रचारप्रसार अभिवृद्धि गर्न भीआर प्रविधिमा आधारित प्रदर्शनी कक्ष विकास गरेको छ । यस प्रविधिमार्फत नयाँ पुस्ता तथा आगन्तुकहरूले इतिहासलाई प्रत्यक्ष अनुभूति गर्नसक्ने वातावरण बनाइएको छ ।
इतिहास संरक्षणका अतिरिक्त जुनयीको पछिल्लो परिचय आर्थिक आत्मनिर्भरतासँग पनि जोडिएको छ । विशेषगरी चिया उत्पादन र वाद्यवादन उद्योगले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न ठूलो भुमिका खेलेका छन् । जुनयीको मेइतान काउन्टीमा मात्रै हाल ४० हजार हेक्टर (६ लाख मु) पर्यावरणमैत्री चिया बगान फैलिएको छ, जहाँबाट करिव ३ लाख २० हजार किसान प्रत्यक्ष लाभान्वित भइरहेका छन् । मेइतान काउन्टी चिया उद्योग विकास केन्द्रका निर्देशक याङ दोङकाअनुसार यस क्षेत्रमा पाँचवटा राष्ट्रिय स्तरका प्रमुख उद्योगसहित करिव ४०० वटा साना तथा ठूला चिया प्रशोधन केन्द्रहरू सञ्चालनमा छन् । हरित चिया पत्ती स्थानीय किसानको आम्दानी बढाउने र जीवनस्तर सुधार गर्ने मुख्य आधार बनेको उनले बताएका छन् ।
त्यसैगरी, उत्पादनमूलक उद्योगको विस्तारले रोजगारीका लागि अन्य औद्योगिक सहरहरूमा जानुपर्ने बाध्यता घटाएको छ । जुनयी सेन्कु म्युजिकल इन्स्ट्रुमेन्ट जस्ता वाद्यवादन उत्पादन कम्पनीहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेका छन् । पहिले झेजियाङ प्रान्तमा काम गरेर फर्केका स्थानीय कामदार ये हुआनकाअनुसार घर नजिकै रोजगारी पाउँदा परिवारको रेखदेख गर्न सहज भएको छ र आर्थिक भविष्यप्रति भरोसा बढेको छ । ऐतिहासिक पृष्ठभूमि, डिजिटल पर्यटन र ग्रामीण औद्योगिकीकरणको यस समन्वयले जुनयीलाई आधुनिक चीनको उदाउँदो आर्थिक केन्द्रका रूपमा रूपान्तरण गरिरहेको छ ।